नेपालमा कोरोनाको सङ्क्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निकायलाई निर्देशन दिएका छन् ।
नेपालमा पनि सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ निर्देशक समितिको बैठकमा प्रधानमन्त्रीले राज्यका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता रहेको बताउँदै जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा रहनु पर्ने बताएकी छिन् ।
प्रधानमन्त्रीले स्वास्थ्य सामाग्रीदेखि अन्य आवश्यक सामाग्रीको पनि पूर्वतयारी गर्नुपर्ने तथा स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।
एकैदिन २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट पुष्टि भएपछि निर्देशक समितिको बैठक बोलाइएको थियो ।