विश्वका अधिकांश देशमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तिव्र रुपमा फैलिरहेको बेला नेपालमा पनि ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ ।
नेपालका पुस महिनामा मात्र थप २४ जनामा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पत्ता लागेको हो ।
पुसमा सङ्कलित एक हजार एक सय ४६ पोजिटिभ नमूनाहरूको एस जिन स्क्रिनिङ्ग गर्दा दुई सय ५० वटा (२२ प्रतिशत) एस जिन नेगेटिभ देखिएको थियो ।
एस जिन नेगेटिभ पत्ता लागेका मध्ये २४ नमूनाहरूको जिन सिक्वेन्सिङ गर्दा सबै नमूनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
ओमिक्रोन भेरिएन्टले बढ्न सक्ने बिरामीहरूको चापलाई ध्यानमा राख्दै अस्पतालहरूलाई तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामग्री तयारी अवस्थामा राख्न मन्त्रालयले निर्देशन दिएको छ ।
नेपालमा पनि ओमिक्रोनको कारण अत्यधिक मात्रामा कोभिड-१९ का सङ्क्रमण बढ्न सक्ने सम्भावना रहेकोले अन्य भेरिएन्ट जस्तै ओमिक्रोनबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ ।