पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दुबई उडानमा यात्रुको सङ्ख्या बढ्दै गएको छ। फ्लाइ दुबईले दुई महिनाको अवधिमा गरेको पोखरा–दुबई–पोखरा उडानबाट १३ हजार ४७४ यात्रुले सेवा लिएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गत असोज ७ देखि मंसिर ७ गतेसम्म फ्लाइ दुबईले दुईतर्फी १२२ उडान गरेको थियो। उक्त अवधिमा दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या आठ हजार ११५ रहेको छ भने पोखराबाट दुबई जाने यात्रु पाँच हजार ३५९ जना छन्।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटबाट विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधाले यस उडानप्रति आकर्षण बढाएको बताए।
उनले पोखरामै भारतीय नागरिकलाई अनापत्ति प्रमाणपत्र (एनओसी) उपलब्ध गराउने व्यवस्था भए यात्रुको सङ्ख्या अझ बढ्न सक्ने बताए। हाल नेपालमा रहेका भारतीय नागरिकले भारतबाहेक अन्य मुलुकमा हवाई यात्रा गर्दा काठमाडौंस्थित भारतीय दूतावासबाट एनओसी लिनुपर्ने व्यवस्था छ। यस विषयमा दूतावाससँग पहल भइरहेको उनले जानकारी दिए।
२०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाइ दुबईले पहिलोपटक यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको हो।