विराटनगर । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजय अस्थायी भएको बताएकी छन् । उनले एउटा निर्वाचनको हारले समग्र राजनीतिक आन्दोलनको भविष्य निर्धारण नगर्ने भन्दै नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गरेकी छन् ।
एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनको परिणामबाट निराश भएर बस्नुभन्दा त्यसबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताएकी हुन् । उनले पार्टीका अगुवा नेता तथा कार्यकर्तालाई नयाँ ऊर्जा, उत्साह र आत्मविश्वासका साथ संगठन निर्माणमा जुट्न आह्वान गरिन् ।
करिब ११ वर्षपछि पार्टीको सक्रिय राजनीतिमा फर्किएकी भण्डारीको यो पहिलो महत्वपूर्ण सार्वजनिक सम्बोधनका रूपमा हेरिएको छ । सम्बोधनका क्रममा उनले निर्वाचनमा प्राप्त हारलाई अन्तिम परिणामका रूपमा लिन नहुने धारणा राखिन् ।
उनले निर्वाचनमा व्यहोर्नुपरेको धक्काका कारण कार्यकर्तामा निराशा उत्पन्न भएको भए त्यसबाट बाहिर निस्कनुपर्ने बताइन् । निराश भएर निष्क्रिय बस्ने नभई कमजोरी पहिचान गर्ने र त्यसलाई सच्याउँदै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
भण्डारीले भनिन्, ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन ।’ उनले विगतका कमजोरीबाट सही पाठ सिक्दै आगामी स्थानीय तहलगायतका निर्वाचनलाई लक्षित गरेर तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिन् ।
उनको सम्बोधनमा पार्टीलाई थप सुदृढ बनाउने, कार्यकर्तामा आत्मविश्वास जगाउने र आगामी निर्वाचनमा राम्रो परिणाम हासिल गर्ने गरी अघि बढ्नुपर्ने सन्देश देखिएको छ ।