विराटनगर । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । परिषद्ले बिहीबार एन्फालाई पत्र पठाउँदै प्रशासनिक तथा आर्थिकसहित सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।
राखेपका सदस्य सचिव रामचरित्र मेहताका अनुसार बिहीबार बसेको परिषद्को कार्यकारी समितिको बैठकले एन्फामाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।
यसअघि एन्फाले गत अप्रिल ५ मा आफूहरूमाथि लगाइएको निलम्बन तथा प्रतिबन्ध हटाउन राखेपसमक्ष अनुरोध गरेको थियो । एन्फाको उक्त अनुरोध र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ बमोजिम परिषद्ले प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।
राखेपले एन्फालाई पठाएको पत्रमा निर्णय जारी भएको मितिदेखि लागू हुने गरी सबै प्रतिबन्ध फुकुवा गरिएको उल्लेख छ । यससँगै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिक प्रतिबन्धसमेत हटेका छन् ।
प्रतिबन्ध फुकुवासँगै एन्फाले अब आफ्ना नियमित प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न पाउने भएको छ । राखेपको यो निर्णयलाई नेपाली फुटबलको प्रशासनिक गतिविधि सहज बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।