रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक रकम सङ्कलन हुने क्रम जारी छ। सरकारले सञ्चालनमा ल्याएका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा विभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा भइरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बुधबार बिहान ९ बजेसम्म दुवै कोषका विभिन्न खातामा गरी कुल १८ अर्ब ४७ करोड ८ लाख ७२ हजार ३९५ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नौ वटा वाणिज्य बैंकमा रहेका खातामा १३ अर्ब ७३ करोड ६ लाख ७७ हजार ४३० रुपैयाँ जम्मा भएको छ।
त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा ३ करोड १७ लाख ५७ हजार ९७२ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ।
बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग सङ्कलन भइरहेको सरकारले जनाएको छ।