नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले उपस्थित हुन बोलाएको छ। पत्रकार रोशन खड्काले सामाजिक सञ्जालमा आफूले लेखेको विषयलाई लिएर उजुरी दिएपछि ब्युरोले बोलाएको जानकारी पाएको शिवाकोटीले बताएका छन्।
उनका अनुसार आइतबार बिहान साढे ११ बजे ब्युरोबाट फोन आएको थियो। फोनमार्फत दिउँसो १२ बजे उपस्थित हुन भनिए पनि आफू करिब १ बजे पुग्ने तयारीमा रहेको उनले बताएका छन्।
यसअघि पनि साइबर ब्युरोले बोलाएको खबर पाएको तर त्यतिबेला भारतमा रहेकाले उपस्थित हुन नसकेको शिवाकोटीले जानकारी दिएका छन्।
चाडपर्वको बिदाका दिनसमेत प्रहरीले बोलाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। फेसबुकमा उनले ब्युरोको ताकेतापछि एक घण्टाभित्र त्यहाँ पुग्ने र सम्भव भएसम्म दिनभरिका भेटघाटसमेत ब्युरामै गर्ने उल्लेख गरेका छन्।
यद्यपि, पत्रकार खड्काले दिएको उजुरीको विषयवस्तु र साइबर ब्युरोले बोलाउनुको विस्तृत कारणबारे भने शिवाकोटीले खुलाएका छैनन्।