अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै स्वचालित हतियार र ठूलो मात्रामा गोलीगट्टासहित एक भेनेजुएली नागरिक पक्राउ परेका छन्।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) र सीक्रेट सर्भिसको टोलीले २६ वर्षीय रोनी योरड्रिक्स गुआनिपा क्रिनोसलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिहीबार राति ह्वाइट हाउस नजिकै पार्क गरिएको चोरीको नीलो फोर्ड एफ–१५० गाडीभित्र सुतिरहेको अवस्थामा उनी फेला परेका थिए। सोधपुछका क्रममा उनले गुगल ट्रान्सलेटको प्रयोग गर्दै आफूसँग हतियार रहेको जानकारी दिएका थिए।
त्यसपछि गाडीको खानतलासी गर्दा प्रहरीले एआर–१५ शैलीको राइफल, म्याक–१० ह्यान्डगन, ग्लोक ४३एक्स पेस्तोल र ठूलो परिमाणमा गोलीगट्टा बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा सन् २०२४ मा अवैध रूपमा अमेरिका प्रवेश गरेका ती युवकले आफ्नो दिमागमा विभिन्न आवाज आउने र ती आवाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्न उक्साउने गरेको बयान दिएको प्रहरीको भनाइ छ।
उनले केही हतियार आफैँले किनेको र केही अरूबाट खोसेको दाबी गरेका छन्। उनी चोरीको गाडीमै बस्दै आएको पनि बताइएको छ।
घटनाबारे अमेरिकी सुरक्षा निकायले थप अनुसन्धान गरिरहेका छन्।