विराटनगर। उमेरले शरीर कमजोर बनाउँदै लगे पनि इच्छाशक्ति बलियो भए लक्ष्य हासिल गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् जापानका ९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा। उनी आफ्नो उमेरका धेरै मानिसले विश्राम लिने समयमा पनि आफूभन्दा निकै कान्छा खेलाडीसँग बडीबिल्डिङ प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन्।
कानाजावा शुक्रबार स्पेनको तटीय सहर सान्ता सुसानामा आयोजित अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी भए। अन्तर्राष्ट्रिय फिटनेस तथा बडीबिल्डिङ महासंघले आयोजना गरेको प्रतियोगितामा उनले ५० वर्षमाथिका खेलाडीका लागि छुट्याइएको मास्टर्स विधामा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताका लागि उनले युवा खेलाडीसरह तयारी गरेका थिए। स्टेजमा उत्रिनुअघि टोलीसँग वार्मअप गर्नुका साथै शरीर आकर्षक देखाउन स्प्रे ट्यानसमेत लगाए। आफूलाई अरूले नगरेका काम गर्न मन पर्ने बताउने कानाजावाले जीवनको अन्तिम समयसम्म बडीबिल्डिङलाई निरन्तरता दिने चाहना व्यक्त गरेका छन्।
आफ्नो शारीरिक तन्दुरुस्तीको मुख्य कारण खानपानलाई मान्ने कानाजावाले ५० वर्षको उमेरदेखि ब्राउन राइस, नाट्टो अर्थात् किण्वित भटमास र मिसो सुपजस्ता परम्परागत जापानी परिकार नियमित खाँदै आएको बताएका छन्। यही खानपान र अनुशासनका कारण ९० वर्षको उमेरसम्म आफू बिरामी नपरेको उनको दाबी छ।
यसपटकको प्रतियोगितामा उनले कुनै पदक जित्न सकेनन्। तर, त्यसले उनको आत्मविश्वास र उत्साहमा कमी ल्याएको छैन। उनले ९३ वर्षको उमेरमा फेरि प्रतियोगितामा सहभागी हुने लक्ष्य राखेका छन्। त्यसपछि भने बडीबिल्डिङबाट संन्यास लिने उनको योजना छ।
उमेरसँगै अनुहारमा चाउरी पर्नु स्वाभाविक भए पनि त्यसको चिन्ता नगरी आफू आफ्नो रुचिमा केन्द्रित रहेको कानाजावा बताउँछन्। जापानी समाजमा चाउरी परेको अनुहारलाई राम्रो नमान्ने धारणा रहे पनि आफूलाई बडीबिल्डिङप्रतिको लगाव नै महत्त्वपूर्ण लाग्ने उनको भनाइ छ।
आफ्नो यात्राले ज्येष्ठ नागरिकलाई पनि सक्रिय रहन र जीवनका लक्ष्य पूरा गर्न प्रेरित गर्ने कानाजावाको अपेक्षा छ। कुनै पनि काममा सफल हुन उमेरभन्दा मानसिक शक्ति र दृढ संकल्प महत्त्वपूर्ण हुने उनको विश्वास छ।