रोशी खोलामा आएको बाढीले सडकका विभिन्न संरचना र डाइभर्सन बगाएपछि अवरुद्ध बनेको बीपी राजमार्ग तत्काल सञ्चालनमा आउने सम्भावना कम देखिएको छ। दुई दिनदेखिको लगातार वर्षापछि शनिबार बिहानदेखि सडक खुलाउने प्रयास गरिए पनि क्षति धेरै भएकाले मर्मतमा समय लाग्ने भएको हो।
बाढीले गिम्दीबेँसी क्षेत्रसहित पुनर्निर्माण भइरहेको सडकखण्डका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएको छ। सडकका केही भागसमेत क्षतिग्रस्त भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरले बिहानैदेखि मर्मत तथा सडक खुलाउने काम थालेको छ। तर, प्रारम्भिक अनुमानभन्दा क्षति बढी देखिएकाले यातायात सञ्चालन गर्न ढिलाइ हुने भएको उनले बताए।
गजुरेलले दिउँसो २ देखि ३ बजेसम्म सडक खुल्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेका छन्।
सडक डिभिजन कार्यालय भक्तपुरले बिहान १० बजेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखेर मर्मत र डाइभर्सन निर्माणको काम अघि बढाएको थियो। तर, बाढीले पुर्याएको क्षति र आवश्यक संरचना पुनर्निर्माण गर्नुपर्ने अवस्थाका कारण निर्धारित समयमा सडक खुलाउन नसकिएको हो।
कार्यालयले सडक खुलाउन आवश्यक उपकरण र जनशक्ति परिचालन गरेर काम गरिरहेको जनाएको छ। मौसम तथा अन्य अवस्था अनुकूल भए दिउँसोसम्म यातायात सञ्चालनमा ल्याउने प्रयास जारी रहेको कार्यालयको भनाइ छ।
बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौं र पूर्वी नेपालबीच आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। राजमार्ग भएर सञ्चालन हुने यात्रुवाहक र मालवाहक सवारीसाधनसमेत बाटोमै रोकिएका छन्।