काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको आकस्मिक सचिवालय बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता जगदिश खरेलले सञ्चारगृहभित्रै पुगेर पत्रकारमाथि धरपकड तथा पक्राउ गर्नु गलत भएको बताए। उनले घटनामा संलग्न दोषीलाई कुनै सम्झौता नगरी तत्काल कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
पत्रकारमाथि धरपकड गर्न प्रहरी सञ्चारगृहमा कसको आदेशमा, किन र कसरी प्रवेश गर्यो भन्ने विषयमा सत्यतथ्य छानबिन हुनुपर्ने प्रवक्ता खरेलको भनाइ छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा पार्टी दृढ रहेको उल्लेख गर्दै उनले दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए।
घटना सार्वजनिक हुनासाथ पार्टीले विरोध जनाएको र प्रधानमन्त्री कार्यालयबाट समेत घटनामा कुनै संलग्नता नरहेको स्पष्ट भइसकेको उनले उल्लेख गरे।
यसैगरी, रास्वपा सचिवालय बैठकले न्यायालयमा देखिएका पछिल्ला विकृति, विसंगति तथा न्यायाधीशसँग जोडिएका विवादको समाधान अदालत वा न्यायपरिषद्बाट मात्रै सम्भव नहुने निष्कर्ष निकालेको छ। समग्र न्यायक्षेत्रको पुनर्संरचनाका लागि संवैधानिक प्रक्रियामार्फत अघि बढ्न बैठकले संसदीय दललाई निर्देशन दिएको छ।
बैठकमा पार्टी सहमहामन्त्री हरि ढकाल नेतृत्वको कार्यदलले तयार पारेको ‘मधेश अडिट’ सम्बन्धी प्रतिवेदन अध्ययनका लागि पेस गरिएको थियो।
त्यस्तै, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा पार्टी महामन्त्री विपिन आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल छिट्टै चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको छ।