पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुक विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक समस्याका कारण गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देशमा बढ्दो भूराजनीतिक चलखेल, सत्तापक्ष र प्रतिपक्षी दलभित्र चुलिँदो आन्तरिक द्वन्द्व तथा न्यायालय, प्रशासन र प्रहरीजस्ता राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले संकटको संकेत गरिरहेको उल्लेख गरेका छन् ।
उनले अर्थतन्त्र निरन्तर कमजोर बन्दै गएको, प्राकृतिक प्रकोपको जोखिम र क्षति बढिरहेको तथा युवाहरू विदेशिने क्रम नरोकिएको विषयलाई पनि चिन्ताको रूपमा औँल्याएका छन् ।
त्यस्तै, सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दै गएको निराशाले मुलुकको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ ।
भट्टराईका अनुसार अहिलेको परिस्थितिमा देशले थप अस्थिरता र राजनीतिक उथलपुथल धान्न सक्ने अवस्था छैन । त्यसैले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनले बताएका छन् ।
‘सक्छौँ, सकारात्मक योगदान गरौँ । सक्दैनौँ, नकारात्मक काम नगरौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।