निजी क्षेत्रको ठूलो लगानीका बाबजुद बागमती प्रदेशका उद्योगहरूले आफ्नो उत्पादन क्षमता पूर्ण रूपमा उपयोग गर्न सकेका छैनन्। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा अध्ययनमा समेटिएका उद्योगले औसतमा ४१.०८ प्रतिशत मात्रै उत्पादन क्षमता उपयोग गरेका छन्। यसअनुसार उद्योगहरूको करिब ५९ प्रतिशत उत्पादन क्षमता प्रयोगविहीन अवस्थामा छ।
अघिल्लो आर्थिक वर्षमा उद्योगहरूको औसत क्षमता उपयोग ३७.४९ प्रतिशत थियो। एक वर्षमा ३.५९ प्रतिशत बिन्दुले सुधार देखिए पनि उद्योगहरूले अपेक्षित गतिमा उत्पादन बढाउन नसकेको प्रतिवेदनले देखाएको छ। अध्ययनमा चाउचाउ उद्योगले सबैभन्दा बढी क्षमता उपयोग गर्दा रासायनिक पदार्थअन्तर्गतको ओइन्टमेन्ट उद्योग सबैभन्दा पछाडि देखिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाका अनुसार बजारमा उपभोग र माग घट्दा उद्योगहरूले उत्पादन कटौती गर्नुपरेको छ। युवा जनशक्ति विदेश पलायन हुनु र सरकारले पुँजीगत खर्च प्रभावकारी रूपमा गर्न नसक्नुले पनि औद्योगिक उत्पादनमा असर पारेको उनको भनाइ छ। उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्यात बढाउनु आवश्यक रहेको उनले बताएकी छन्।
उद्योग क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने बढेको छ। प्रतिवेदनअनुसार औद्योगिक क्षेत्रमा १३ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। २०८२ असार मसान्तमा यस्तो कर्जा १२ खर्ब ११ अर्ब पाँच करोड रुपैयाँ थियो। प्रदेशमा प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रको हिस्सा ३६.८१ प्रतिशत रहेको छ।
औद्योगिक कर्जाको अधिकांश हिस्सा काठमाडौंमा केन्द्रित छ। काठमाडौंमा १२ खर्ब ३७ अर्ब ३१ करोड रुपैयाँ अर्थात् कुल औद्योगिक कर्जाको ९२.७३ प्रतिशत प्रवाह भएको छ। यसको विपरीत रसुवामा १९ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ, जुन कुल औद्योगिक कर्जाको ०.०१ प्रतिशत हो।
क्षेत्रगत रूपमा विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगले औद्योगिक कर्जाको ३७ प्रतिशत हिस्सा ओगटेका छन्। गैरखाद्य वस्तु उत्पादनमा २९.३ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनमा १५.४ प्रतिशत र निर्माण उद्योगमा १४.४ प्रतिशत कर्जा प्रवाह भएको छ। धातुका सामान, मेसिनरी तथा इलेक्ट्रोनिक उद्योगको हिस्सा ३.३ प्रतिशत र खानी उत्पादनको हिस्सा ०.५ प्रतिशत छ।
अघिल्लो वर्षको तुलनामा निर्माण उद्योगमा कर्जा २३.९७ प्रतिशतले बढेको छ। कृषि, वन तथा पेय पदार्थ उत्पादनमा १३.०७ प्रतिशत, विद्युत्, ग्यास तथा पानीमा ११.८ प्रतिशत, धातुका सामान तथा मेसिनरी उद्योगमा २.८३ प्रतिशत र गैरखाद्य वस्तु उत्पादनमा २.६० प्रतिशतले कर्जा वृद्धि भएको छ। तर खानी उत्पादनसम्बन्धी उद्योगमा कर्जा प्रवाह ११.०८ प्रतिशतले घटेको छ।
बागमती प्रदेशका उद्योगहरूले हाल आठ हजार २३२ जनालाई रोजगारी दिएका छन्। तीमध्ये आठ हजार १२४ जना नेपाली र १०८ जना विदेशी कामदार छन्। उत्पादन क्षमता पूर्ण रूपमा उपयोग हुन सकेको अवस्थामा थप रोजगारी सिर्जना गर्ने सम्भावना भए पनि अहिलेको न्यून क्षमताले त्यो अवसर सीमित बनाएको छ।
कच्चा पदार्थ तथा इन्धन आयातमा निर्भरता, दक्ष जनशक्तिको अभाव, बजारमा प्रतिस्पर्धा, कमजोर पूर्वाधार र आधुनिक प्रविधिको सीमित प्रयोग उद्योगका प्रमुख चुनौतीका रूपमा देखिएका छन्। विद्युत् उत्पादन बढे पनि गुणस्तरीय आपूर्ति, भोल्टेजको स्थिरता र नियमित विद्युत् प्रवाहमा समस्या कायम रहेको प्रतिवेदनले औँल्याएको छ।
यद्यपि बागमती प्रदेशमा औद्योगिक विकासका अवसर पनि छन्। घट्दो ब्याजदरको लाभ उठाउँदै कर्जालाई उत्पादन विस्तार, प्रविधि सुधार र बजार विकासमा उपयोग गर्न सके उद्योगको क्षमता बढाउन सकिन्छ। भारत र चीनजस्ता ठूला बजारको भौगोलिक निकटता उपयोग गरी निर्यात प्रवर्द्धन गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप र पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सकिने सम्भावना छ।
त्यसैगरी हिमाली क्षेत्रको पानी र जडीबुटी प्रशोधन तथा ब्रान्डिङ, जलविद्युत्बाट प्राप्त स्वच्छ ऊर्जाको उपयोग र विद्युतीय सवारीसाधन तथा हाइड्रोजन इन्धनसम्बन्धी उद्योगको विकासले औद्योगिक विस्तारमा सहयोग पुर्याउन सक्छ। उपलब्ध लगानी, पूर्वाधार र वित्तीय स्रोतलाई प्रभावकारी रूपमा परिचालन गर्न सके निष्क्रिय उत्पादन क्षमता उपयोग गर्दै उत्पादन, रोजगारी र निर्यात बढाउन सकिने देखिन्छ।