congress election 2083 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा सुरुवाती दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ८ः३० बजेदेखि १०ः३० बजेसम्म उक्त संख्यामा मतदान भएको हो। प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम र कर्णालीबाट संयुक्त रूपमा सबैभन्दा बढी २५७ मत खसेको छ। त्यस्तै कोशी प्रदेशबाट २२२, बागमतीबाट २१७, लुम्बिनीबाट २०२ र गण्डकीबाट १८८ मत खसेको निर्वाचन समितिले जनाएको छ।
नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधि मतदानमा सहभागी हुन पाउनेछन्। कांग्रेसमा महाधिवेशन प्रतिनिधिको कुल संख्या भने ७ हजार ३१७ रहेको छ।
यसपटक सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। मतदानबाट सभापतिसहित पार्टीको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।
मतदानको सुरुवात कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए। नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानसँगै कांग्रेसको आगामी राजनीतिक दिशा र पार्टी सञ्चालनको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चासो बढेको छ।