विराटनगर ।काभ्रेपलाञ्चोकको सुनकोशी नदी किनारमा बुधबार साँझ देखिएको एउटा दृश्यले यतिबेला सिंगो देशलाई स्तब्ध बनाएको छ। प्रत्यक्षदर्शीका अनुसार ६८ वर्षीय केदारनाथ पराजुलीले दुई वर्षदेखि बोनम्यारो क्यान्सरसँग संघर्ष गरिरहेकी आफ्नी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीलाई पिठ्युँमा बोकेर सुनकोशी नदीमा हाम फाले। मन्दिरका पुजारीले रोक्न खोजे, बोलाए पनि उनी फर्किएनन्। घटना भएको दोस्रो दिनसम्म पनि दुवैको अवस्था अज्ञात छ र खोजी कार्य जारी छ।
परिवारका अनुसार तिलकुमारी पराजुली दुई वर्षदेखि बोनम्यारो क्यान्सरबाट पीडित थिइन्। काठमाडौंको सिभिल अस्पतालमा उनको उपचार भएको थियो। किमोथेरापीसमेत गरियो, तर स्वास्थ्यमा अपेक्षित सुधार आउन सकेन। पछिल्लो समय उनी घरमै औषधि सेवन गरिरहेकी थिइन् र आवश्यक पर्दा अस्पताल लैजाने गरिएको थियो। रोगका कारण उनी अपांगसमेत भएकी थिइन्। यता, उनका श्रीमान् केदारनाथ पनि प्रोस्टेट रोगबाट पीडित थिए। केही दिनअघि मात्रै उनको शरीरमा पिसाबको थैली झुन्ड्याइएको थियो। आफैँ बिरामी हुँदाहुँदै पनि उनले आफ्नी श्रीमतीको उपचार, हेरचाह र साथ कहिल्यै छाडेनन्।
यो घटना किन भयो, के कारणले यस्तो निर्णय भयो भन्ने निष्कर्ष अनुसन्धानपछि मात्रै आउनेछ। त्यसैले कुनै पनि निष्कर्षमा पुग्नु अहिले उचित हुँदैन। तर, यो घटनाले हाम्रो समाजसामु एउटा गम्भीर प्रश्न भने अवश्य उठाएको छ—के नेपालमा एउटा गम्भीर रोग लाग्नु भनेको बिरामीसँगै एउटा परिवार पनि आर्थिक, मानसिक र सामाजिक रूपमा बिस्तारै समाप्त हुँदै जानु हो?
नेपालमा क्यान्सर भन्ने शब्द सुन्नासाथ धेरै परिवारको पहिलो चिन्ता उपचार होइन, उपचारको खर्च हुन्छ। घर बेच्ने, जग्गा धितो राख्ने, ऋण खोज्ने, आफन्तसँग सहयोग माग्ने र अन्ततः सबै विकल्प सकिएपछि निराशामा बाँच्नुपर्ने अवस्था धेरै परिवारले भोगिरहेका छन्। यो केवल एउटा परिवारको कथा होइन, हजारौँ नेपाली परिवारको साझा पीडा हो।
सरकारले क्यान्सर बिरामीलाई एक लाख रुपैयाँसम्म आर्थिक सहयोग दिने व्यवस्था गरेको छ। यो निश्चय पनि सकारात्मक कदम हो। तर आजको उपचार खर्चका बीच त्यो रकम पर्याप्त छ कि छैन भन्ने प्रश्न उठिरहेको छ। विशेषगरी बोनम्यारो क्यान्सरजस्ता जटिल रोगमा उपचार खर्च लाखौँ रुपैयाँ पुग्न सक्छ। नेपालमा सरकारी अस्पतालमध्ये हाल सिभिल अस्पतालमा मात्रै बोनम्यारो प्रत्यारोपण सेवा उपलब्ध छ। विशेषज्ञ चिकित्सक सीमित छन्, पूर्वाधार सीमित छ, र धेरै बिरामी उपचारका लागि भारतलगायत अन्य देश जान बाध्य हुने अवस्था अझै कायम छ।
यसले देखाउँछ कि समस्या केवल रोगको होइन। समस्या उपचारको पहुँचको हो। समस्या आर्थिक अवस्थाको हो। समस्या स्वास्थ्य सेवाको समान पहुँच र राज्यको तयारीको हो। आज पनि धेरै नेपालीको वास्तविक लडाइँ रोगसँग भन्दा बढी उपचार खर्चसँग भइरहेको छ।
त्यसैले आजको प्रश्न केवल पराजुली दम्पतीको घटनामा सीमित छैन। प्रश्न यो हो—कुन परिस्थितिले एउटा परिवारलाई यति धेरै निराश बनाउँछ? यदि कुनै बिरामी आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन्छ भने त्यो एउटा परिवारको मात्र पीडा होइन, त्यो राज्यको स्वास्थ्य प्रणालीमाथिको गम्भीर प्रश्न पनि हो।
अब सरकारले केवल आर्थिक सहयोग घोषणा गरेर मात्र पुग्दैन। सहज र सुलभ उपचार, पर्याप्त क्यान्सर अस्पताल, विशेषज्ञ चिकित्सक, आधुनिक उपचार सेवा, सस्तो औषधि, प्रभावकारी स्वास्थ्य बीमा र समयमै उपचारको पहुँच सुनिश्चित गर्न ठोस कदम चाल्न आवश्यक छ।
पराजुली दम्पतीजस्तो पीडा अब कुनै नेपाली परिवारले भोग्न नपरोस्। रोगसँग लड्ने हिम्मत धेरैसँग हुन्छ, तर उपचार खर्चसँग हार्ने बाध्यता अन्त्य हुनुपर्छ। कुनै पनि नेपालीले रोगभन्दा पहिले उपचारको खर्चसँग हार्नुपर्ने अवस्था अब दोहोरिनु हुँदैन। यहीतर्फ राज्यको गम्भीर ध्यान जानु आजको सबैभन्दा ठूलो आवश्यकता हो।