काठमाडौं । रूसको उत्तरी काकेशसस्थित काबार्डिनो–बाल्कारिया क्षेत्रमा गएको हिमपहिरोमा परी ११ जना पर्वतारोहीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
स्थानीय आपतकालीन सेवाका अनुसार आइतबार साँझ करिब ५ बजे माउन्ट मिझिर्गीमा गएको हिमपहिरोले ३३ जना पर्वतारोहीको समूहलाई बगाएको थियो। सोमबार बिहानसम्म १० जना पर्वतारोही आफैं सुरक्षित रूपमा पहाडबाट तल झरेका छन् भने ६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ।
घटनापछि ५० भन्दा बढी आपतकालीन उद्धारकर्मी खोज तथा उद्धारमा परिचालन गरिएको छ। तर कठिन भौगोलिक अवस्था र थप हिमपहिरो आउन सक्ने जोखिमका कारण उद्धार कार्य प्रभावित भइरहेको बताइएको छ।
माउन्ट मिझिर्गीको पश्चिमी शिखर ५ हजार ४७ मिटर र पूर्वी शिखर ४ हजार ९२७ मिटर अग्लो छ। काकेशस क्षेत्र पर्वतारोहणका लागि लोकप्रिय मानिन्छ।