जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको बजेटमध्ये जेठ २१ गतेसम्म जम्मा १९.४ प्रतिशत मात्रै खर्च गरेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको थियो। तर आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा हालसम्म ९ अर्ब ११ करोड ९५ लाख ७५ हजार रुपैयाँ मात्रै खर्च भएको प्रदेश अर्थ मन्त्रालयले जनाएको छ।
खर्च विवरणअनुसार चालुतर्फ ५ अर्ब ३२ करोड ४४ लाख ८४ हजार रुपैयाँ र पुँजीगततर्फ ३ अर्ब ७९ करोड ५० लाख ९१ हजार रुपैयाँ खर्च भएको छ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सार्वजनिक गरेको साप्ताहिक प्रगति विवरणअनुसार खर्चको गति निकै सुस्त देखिएको छ। जेठ १३ गतेसम्म कुल खर्च ८ अर्ब ७५ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेकोमा जेठ २१ गतेसम्म आइपुग्दा जम्मा ३६ करोड ४२ लाख रुपैयाँ मात्रै थप खर्च भएको देखिएको छ।
आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा पनि बजेट कार्यान्वयन कमजोर देखिएपछि विकास निर्माणका योजना प्रभावित हुने चिन्ता बढेको छ। विशेषगरी पुँजीगत खर्च न्यून रहनुले प्रदेश सरकारको विकास खर्च प्रभावकारी हुन नसकेको संकेत गरेको छ।
प्रदेश सरकारले आगामी दिनमा खर्चको गति बढाउने र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाए पनि हालसम्मको प्रगति भने सन्तोषजनक देखिएको छैन।