बार्सिलोनाले आइतबार क्याम्प नोउमा रियल मड्रिडमाथि २–० को सहज जित निकाल्दै लगातार दोस्रो तथा समग्रमा २९औं स्पेनिस ला लिगा उपाधि जितेको छ। यससँगै रियलको निराशाजनक सिजन अझ खराब बनेको छ।
मार्कस रासफोर्डले नवौं मिनेटमा र फेरान टोरेसले १८औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए। यो नतिजापछि तीन खेल बाँकी रहँदा बार्सिलोनाले आफ्नो कट्टर प्रतिद्वन्द्वी रियलमाथि १४ अंकको अपराजेय अग्रता बनाएको छ।
बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिक आफ्ना पिताको निधनपछि पनि आइतबारको ‘एल क्लासिको’ मा टोलीसँगै डगआउटमा उपस्थित भएका थिए। खेल सुरु हुनुअघि बार्सिलोनाले फ्लिकका पिताको निधनबारे जानकारी दिएको थियो।
दुवै टोलीका खेलाडीले कालो आर्मब्यान्ड लगाएका थिए भने खेलअघि एक मिनेट मौनधारण गरिएको थियो। बार्सिलोनालाई उपाधि सुनिश्चित गर्न बराबरी नै पर्याप्त हुने अवस्था थियो। क्याटलान क्लबले पछिल्ला चार सिजनमध्ये तेस्रो पटक ला लिगा जितेको हो।
ला लिगामा सर्वाधिक ३६ उपाधि जितेको रियल भने लगातार दोस्रो सिजन कुनै ठूलो उपाधिविहीन बन्न पुगेको छ। बार्सिलोनाविरुद्धको हारले रियलको निराशाजनक सातालाई थप पीडादायी बनाएको छ।
प्रशिक्षणका क्रममा खेलाडीबीच विवाद भएपछि क्लबले फेडेरिको भाल्भेर्दे र औरेलियन चुआमेनीलाई जनही पाँच लाख युरो जरिवाना गरेको थियो। घरेलु टोलीका मार्कस रासफोर्डले शानदार फ्रिकिकमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए।
उनले बललाई खेलाडीहरूको पर्खालमाथिबाट मोड्दै पोस्टको माथिल्लो कुनामा पुर्याएका थिए। त्यसपछि डानी ओल्मोको फ्लिक पासमा फेरान टोरेसले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।