२०८२ साल बालेन्द्र शाह ‘बालेन’का लागि असाधारण उपलब्धिको वर्ष बन्यो । एकातिर राजनीतिमा अप्रत्याशित उचाइ, अर्कोतिर संगीतमा कीर्तिमानी सफलता, यी दुबै क्षेत्रको संगमले उनलाई वर्षकै सबैभन्दा चर्चित र प्रभावशाली पात्रका रूपमा स्थापित गर्यो ।
छोटो समयमै उनले देखाएको उभार केवल सफलता मात्रै होइन, एउटा नयाँ पुस्ताको आकांक्षा र परिवर्तनको संकेत पनि हो । र्यापबाट आफ्नो पहिचान बनाएका बालेनको यात्रा काठमाडौं महानगरपालिकाको मेयर हुँदै देशको कार्यकारी नेतृत्वसम्म पुग्नु आफैंमा असाधारण कथा हो । चार वर्षअघिसम्म संगीतमार्फत व्यवस्था र समाजमाथि प्रश्न उठाउने एक युवा, आज देशको नेतृत्व सम्हाल्ने स्थानमा पुग्नु धेरैका लागि प्रेरणा त छँदैछ, कतिपयका लागि आश्चर्यजनक पनि ।
अझैसम्म पनि कतिपय नेताहरूले स्वीकार गर्न सकिरहेका छैनन् । उनीहरू भन्दैछन्, कि बालेन त एआईको प्रधानमन्त्री हो । अझ केही महिना अघिसम्म संगठनबिनै मेयर बनेका व्यक्ति प्रधानमन्त्री बन्ने यात्रालाई धेरैले असम्भव ठानेका थिए । प्रतिनिधिसभा निर्वाचनमा उनले देखाएको जनसमर्थन अझै चकित पार्ने खालको रह्यो ।
झापा–५ बाट उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई करिब ५० हजार मतान्तरले पराजित गर्दै ६८ हजार ३४८ मत प्राप्त गरे, जबकि ओली १८ हजार ७३४ मतमै सीमित भए । यो परिणाम जित मात्रै होइन, बरु पुरानो राजनीतिक संरचनामाथि जनताको असन्तुष्टि र नयाँ नेतृत्वप्रतिको विश्वासको स्पष्ट संकेत पनि हो ।
गीतबाट सुरु भएको चर्चा, आन्दोलनले दिएको उचाइ
बालेनको प्रभाव राजनीतिमा मात्रै सीमित रहेन । संगीतमा पनि उनले २०८२ मा ऐतिहासिक सफलता हासिल गरे । भदौ महिनामा भएको जेन–जी आन्दोलन र चुनावी माहोलसँगै ‘यो देश’ बोलको गीत पुनः चर्चामा आयो । “लेखौँ भविष्य आफ्नो आफैँ नै, अरु कोही आएर बनाउँदैन यो देश” भन्ने सन्देशले युवापुस्ताको मन छोयो । यद्यपि गीत पहिले नै सार्वजनिक भएको थियो, तर २०८२ मा यसले पाएको लोकप्रियता अभूतपूर्व रह्यो ।
आन्दोलन, सामाजिक सञ्जाल र राजनीतिक परिवेशसँग जोडिँदा गीत एउटा अभियान जस्तै बन्यो । उनले २०८२ मा दुई नयाँ गीत सार्वजनिक गरे—‘आम नेपाली बुवा’ र ‘जय महाकाली’। ‘आम नेपाली बुवा’ले मध्यम चर्चा पाए पनि ‘जय महाकाली’ भने कीर्तिमानमाथि कीर्तिमान बनाउने गीत बन्यो । शपथअघि सार्वजनिक भएको उनको यो गीतले ३ घण्टामै १० लाख भ्युज पार गर्यो भने २४ घण्टामा ३५ लाख भ्युज पुग्दै सबैभन्दा छिटो ५० लाख भ्युज पार गर्ने नेपाली गीत बन्यो । यो गीतले हालसम्म ७ करोड पार गरिसकेको छ । यसले बालेनको प्रभाव केवल राजनीतिमा होइन, संगीतको क्षेत्रमा पनि उत्तिकै बलियो भएको प्रमाणित हुन्छ ।
कसरी सम्भव भयो मेयरदेखि प्रधानमन्त्रीसम्मको ऐतिहासिक फड्को ?
बालेन्द्र शाहको राजनीतिक यात्रा २०८२ सालमा अप्रत्याशित रूपमा उकालो लाग्यो । वर्षको सुरुवातमा काठमाडौं महानगरपालिकाका मेयरका रूपमा कार्यरत रहेका बालेन वर्षको अन्त्यसम्म देशको प्रधानमन्त्री बन्न सफल भए । जेन–जी आन्दोलनले सिर्जना गरेको राजनीतिक तरंग, परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र युवापुस्ताको तीव्र परिवर्तन चाहनाले उनको यात्रालाई निर्णायक मोडमा पुर्यायो ।
महानगरको ५ वर्षे कार्यकाल पूरा गर्ने योजना बनाएका बालेनको जीवनमा उक्त आन्दोलनपछि नयाँ राजनीतिक मोड देखियो । यद्यपि, केही विपक्षी नेताहरूले भने आन्दोलनको ‘डिजाइनर’ स्वयं बालेन भएको आरोपसमेत लगाउँदै आएका छन् ।
यसैबीच, रवि लामिछाने कारागारबाट बाहिरिएपछि नयाँ शक्तिहरूबीच एकता आवश्यक रहेको भन्दै बालेनलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । तर, बालेन–रवि सहकार्यको प्रयास भने रवि अनुपस्थित रहँदा पनि पुकार बम, शिशिर खनाल, गणेश कार्की र असीम साह लगायतका व्यक्तिहरूले अघि बढाइरहेका थिए ।
२०८२ सालको अन्त्यतिर बालेन र रविबीच अनौपचारिक संवाद सुरु भयो । त्यसपछि पुष १० गते ज्वागल स्थित कुमार बेनको घरमा पहिलो गोप्य भेट भयो, जहाँ केही समय समूहमा र पछि छुट्टै बसेर गम्भीर छलफल गरिएको थियो । त्यसपछि कमलपोखरी क्षेत्रमा अर्को स्थानमा करिब ५ घण्टा लामो बैठक भयो । बैठकपछि दुवै एउटै गाडीमा निस्किएको दृश्यले सहकार्यको संकेतलाई अझ बलियो बनायो ।
त्यसपछि रविले “छलफल सकारात्मक” भएको प्रतिक्रिया दिए र दुवैबीच चुनावी तालमेल, सहकार्य र नेतृत्वबारे गम्भीर छलफल भएको खुलासा भयो । यसैक्रममा बालेन प्रधानमन्त्रीको सम्भावित अनुहार बन्ने चर्चा तीव्र भयो र पछि दुवै जनकपुरको एक सार्वजनिक मञ्चमा सँगै देखिएका थिए ।
अन्ततः २०८२ साल बालेन शाहका लागि केवल सफलताको वर्ष मात्र नभई इतिहास लेखिएको वर्ष बन्यो ।
मेयरदेखि प्रधानमन्त्रीसम्मको उनको यात्रा र समानान्तर रूपमा सांगीतिक क्षेत्रमा पाएको लोकप्रियताले उनलाई बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित गर्यो । उनको यात्रा एउटा स्पष्ट सन्देश पनि हो, समय, सन्दर्भ र जनसमर्थन मिलेमा असम्भव देखिने लक्ष्य पनि सम्भव बन्न सक्छ । तर, यो उपलब्धि दीर्घकालीन रूपमा कत्तिको टिकाउ हुन्छ भन्ने कुरा आगामी दिनमा उनले गर्ने काम, नीतिगत निर्णय र उपलब्धिहरूले देखाउने नै छ ।