काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधि सभा निर्वाचनमा प्रविधि तथा सामाजिक सञ्जालको दुरुपयोगले निर्वाचन प्रक्रियालाई गम्भीर रूपमा बिथोल्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।
निर्वाचनमा सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोग रोक्न पहल गर्ने प्रतिबद्धतासहित निर्वाचन आयोग पुगेको टिकटकको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
प्रविधि र सामाजिक सञ्जालमार्फत हुने सम्भावित दुरुपयोग रोक्न सबै सरोकारवालाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
‘आगामी निर्वाचनमा प्रविधिको दुरुपयोग हुनु हुँदैन । दुरुपयोगले निर्वाचनलाई अत्यन्त प्रभावित पार्ने, बिथोल्ने र निर्वाचनको संग्लिएको वातावरणलाई धमिल्याउने प्रयास विभिन्न पक्षबाट हुन सक्छ,’ उनले भने ।
टिकटकले नेपालमा सकारात्मक उद्देश्यका साथ निःशुल्क रूपमा निर्वाचन सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएकोमा आयुक्त भण्डारीले त्यसलाई महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।
‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचन प्रक्रियामाथि छ । नेपालको निर्वाचनलाई टिकटकमार्फत सहयोग गर्ने प्रतिबद्धता आफैंमा निकै महत्त्वपूर्ण छ,’ उनले बताए ।