खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २७ असार, २०८२
१० महिनाअघि

विराटनगर । कोशी प्रदेश प्राकृतिक सुन्दरताले मात्र नभएर खेलकुदको क्षेत्रमा भएको नयाँ परिवर्तनले पनि मानिसहरूको ध्यान खिचिरहेको छ ।

अझ, विशेषगरी प्रदेश खेलकुद विकास बोर्डको गठनपछि प्रदेशमा हुने गरेका खेलकुद प्रतियोगिताको आयोजनाले गर्दा पनि खेलाडी र खेलसम्बद्ध व्यक्तिलाई उत्साहित गरेको छ ।

बोर्डको गठन भएपछि कोशी प्रदेश खेलकुदमय बनेको छ भने खेल र खेलाडीमा प्रोत्साहन तथा सम्मानको वातावरण बनेको छ ।

२०७६ सालमा बनेको प्रदेश खेलकुद ऐनलाई टेकेर कोशी प्रदेश सरकारले २०७८ असोज २४ गते खेलकुद विकास बोर्ड गठन गरेको थियो ।

१५ सदस्यीय बोर्डका संस्थापक सदस्यसचिवको जिम्मेवारी कृष्ण बस्नेत ‘पर्शुराम’ लाई दिइएको थियो । खेलाडीको प्रतिभा र जोशलाई सही दिशातर्फ उन्मुख गराउन कस्सिएका बस्नेतले अहिले पनि बोर्डको नेतृत्व गरिरहेका छन् ।

सदस्यसचिव बस्नेतको नेतृत्वमा रहेको बोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर प्रदशभरि विभिन्न प्रतियोगिता गरिरहेको छ, जसकारण प्रदेश खेलमय बनिरहेको छ ।

खेल गतिविधि नै घटेर आर्थिक उपार्जन हुन छोड्नु, खेल र खेलाडीका लागि आएको बजेटको दुरुपयोग हुनु र सरोकारवाला निकायले खेलाडीको हितमा काम गर्न नसकेपछि नैराश्यता बोकेर खेलाडी बाहिरिरहेका छन् ।

खेलाडी छनोटमा अपारदर्शिता, उनीहरूका लागि आएको सुबिधा खेलकर्मीले लुछाचुँडी गर्ने प्रवृत्ति मौलाएको छ भने बन्द प्रशिक्षणको अभाव, पर्याप्त आहारको अभावजस्ता समस्याले गर्दा खेलाडीमा निराशापन छाएको छ ।

खेलमा भविष्य नदेखेर खेलाडीहरू पलायन हुनुपर्ने बाध्यता देखेका बस्नेत यो परिस्थिति टार्नका लागि कम्मर कसेर लागिपरेका छन् ।

कुरीति जरैदेखि हटाएर सुशासन र पारदर्शितासहित खेलाडी पलायन रोक्न लागिपरेको खेलकुद विकास बोर्ड खेल र खेलाडीका लागि छुट्याइने बजेटलाई सही हिसाबले परिचालन गर्न तत्पर छ ।

प्रदेश खेलकुद विकास बोर्डका चौमासिक खेल गतिविधि

‘खेल गति नै खेलाडीको प्रगति’ भन्ने मूल नाराका साथ प्रदेश खेलकुद विकास बोर्डले पहिलोपटक खेलकुद महोत्सव आयोजना गरेको थियो ।

फागुन १३ देखि १८ गतेसम्म भएको महोत्सवमा पुरानो मानिने खेल बाघचालदेखि लिएर डोरीतानसहित ११ विधामा स्पर्धा भएको थियो ।

पहिलो संस्करणको खेल महोत्सव आयोजना गरेयता पनि बोर्डले अरू विभिन्न प्रतिस्पर्धाहरू गराइरहेको छ ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा चैत २२ गते चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन भएको थियो ।

बोर्डका सदस्य सचिव बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै यस्ता प्रतिस्पर्धाले नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका थिए ।

विराटनगरको जुटमिट खेलमैदानमा आठ दिनसम्म भएको प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमहरूको सहभागिता थियो ।

जसको विजेता बनेको विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले २ लाख १ हजार रुपैयाँ जित्यो भने पाहुना टोली भारत पटनाको हाइपर क्रिकेट क्लबले १ लाख १ हजार रुपैयाँका साथ ट्रफी हात पार्‍यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी वाईआरसीसीका नरेश गिरीले २५ हजार रुपैयाँ पाए भने बेस्ट बलर होराइजनका दीपेश कँडेल र बेस्ट ब्यटरमा पटनाका कुमार श्रेयले जनही १५–१५ हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले खेलाडीहरूलाई पुरस्कार प्रदान गरे ।

त्यसअघि चैत १९ गते बोर्डको संयोजन तथा विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा नेपाली युथ फिटनेस एन्ड केलिसथेनिक्स विराटनगरले चौथो संस्करणको कोशी प्रदेश स्ट्रिट गेम्सको आयोजना गरेको थियो ।

प्रतियोगितामा एक सय ३० जना पुरुष खेलाडी र ३० जना महिला खेलाडी गरी जम्मा १६० जना खेलाडी सहभागी थिए ।

जसमा पुरुष सर्किट विधातर्फको खेलमा आयुष नेम्वाङ प्रथम भए भने मुकेश अगुवा र एइनिस प्रधानले द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

त्यसैगरी, महिला सर्किट विधातर्फको खेलमा महिमा यखा राई प्रथम हुँदा सपना मगर र भावना घिमिरेले क्रमशः द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

खुल्ला बार विधातर्फको खेलमा साहिल लिबांग,सुशान्त नरसिंह राणा, संजोक थापाले क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल भए ।

हरेक विधाअन्तर्गतको खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका खेलाडीहरूले एनवाइएफसी विराटनगरको तर्फबाट प्रोत्साहनस्वरूप क्रमशः मेडल, ट्रफीसहित नगद रु १५,०००, रु ९,००० र रु ६,००० नगद पुरस्कर तथा विभिन्न आकर्षक उपहारहरू प्राप्त गरे ।

चैत २२ र २३ गते एलाइनेट जिमले धरानमा कोशी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता आयोजना गरेको थियो ।

प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको उक्त प्रतियोगितामा ‘मिस्टर कोशी’ उपाधि बेलबारी लालभित्तिका पुष्प शंकरले प्राप्त गरेका थिए ।

धरान–१३ अमर सेवा समाजको कभर्डहलमा भएको एलाइनेट जिम धरानको २२औँ शारीरिक सुगठन प्रतियोगितामा उपाधि विजेता पुष्प शंकर ७५ केजी तौल समूहबाट विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए ।

उपाधिसँगै उनले नगद १ लाख २५ हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा पपुलर जिम फिटनेश पथरीका अजय मरिक उपविजेता रहे । तेस्रो स्थान क्लासिक फिटनेश काकडभित्ताका रमेश फम्बो लिम्बूले प्राप्त गरे ।

चैत २३ गते विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।

बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, उपाध्यक्ष बिन्दिया कार्की, बोर्डका सदस्यहरू तथा खेलाडी र खेलसम्बद्ध व्यक्तिको सहभागितामा विराटनगरमा बृहत्त् र्‍यालीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएको ¥याली हस्पिटलचोक, जलजला चोक, गोल्छा चोकहुँदै बोर्डको कार्यालयमा पुगेर समापन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै मन्त्री राईले नवौं राष्ट्रिय खेलकुदमा प्रदेशले हासिल गरेको नतिजालाई भन्दा उत्कृष्ट नतिजा ल्याउनेगरी १०औं खेलकुदको तयारीका लागि जुटेको बताएका थिए ।

बोर्डका सदस्यसचिव बस्नेतले खेलाडीले खेलेरै जीवन निर्वाह गर्न सक्छन् भन्ने कुरालाई स्थापित गर्नका लागि बोर्डले निरन्तर रूपमा खेल गतिविधि गरिरहेको बताए ।

उक्त कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दामोदर फुयाँल, बोर्डका प्रशासन प्रमुख कालीदास भट्टराई, लेखा प्रमुख दीपक घिमिरे तथा प्रशिक्षक र व्यवस्थापकहरूको पनि उपस्थिति थियो ।

अन्तर्राष्ट्रिय खेलकुद दिवसकै अवसर पारेर बोर्डले एक दिने योगा प्रशिक्षण कार्यक्रम गरेको थियो ।

योगा प्रशिक्षक शिल्पा प्याकुरेलले दिनुभएको प्रशिक्षण कार्यक्रममा कोशी प्रदेश सभाकी उपसभामुख सिर्जना दनुवार, बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलगायत बोर्ड मातहतका कर्मचारीहरू, विभिन्न खेल र खेल सम्बद्ध संघ–संगठनमा आवद्ध खेलकुदकर्मीहरूको उपस्थिति रहेको थियो ।

चैत ३० गते प्रदेश खेलकुद विकास बोर्डले सातौँ अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप–२०२५ मा सहभागी हुने कोशी प्रदेशका खेलाडी र प्रशिक्षकहरूलाई बिदाइ गरेको थियो ।

राष्ट्रिय जुडो संघको आयोजनामा वैशाख ३ देखि ५ गतेसम्म काठमाण्डौंमा भएको च्याम्पियनसिपमा विभिन्न वजन समूहको स्पर्धामा कोशी प्रदेशबाट २५ जना खेलाडी र ३ जना प्रशिक्षकको सहभागिता थियो ।

वैशाख १३ गते कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रायोजनमा दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिता आयोजना भएको थियो ।

धरानस्थित गल्फ क्लबको गल्फ कोर्समा भएको उक्त प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका थिए ।

नेट विधातर्फ ९ अन्डर अंकसहित गुप्ता विजेता हुँदा दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल भएका थिए भने तेस्रो स्थानमा राजीव घिमिरे रहेका थिए ।

प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंकसहित सुमन परियार विजयी हुँदा उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाउनु परेको थियो ।

त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता भएका थिए ।

प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहेका थिए ।

महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता भएका थिए ।

प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन ,सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल भएका थिए ।

विजेताहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेललगायतले ट्रफी हस्तान्तरण गरेका थिए ।

वैशाख १३ गतेदेखि २० गतेसम्म प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता भएको थियो ।

एमएम कप फाउन्डेसनको आयोजनामा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब विजेता बन्यो ।

जितसँगै पुलिसले नगद ४ लाख र ट्रफि र उपविजेता आर्मीले नगद २ लाख र ट्रफि हात पारेको थियो ।

बोर्डको संयोजन तथा मन्जिना फाउन्डेसन नेपालको आयोजनामा विराटनगरमा विराट फुटसल च्याम्पियनसिप भएको थियो ।

वैशाख २२ गते विराटनगरस्थित जाम्बोरे फुटसल कोर्टमा भएको प्रतियोगिताको फाइनल खेलमा मोरङलाई हराउँदै सुनसरीले उपाधि जितेको थियो ।

पाँच जिल्लाको सहभागितामा भएको प्रतियोगिताको उपाधिसँगै सुनसरीले ३१ हजार नगदसहित ट्रफी, मेडल र मोरङले २१ हजार नगद ट्रफी, मेडल पाएको थियो ।

इटहरीस्थित ओसियन पार्कमा वैशाख २८ र २९ गते दुई दिने कोशी प्रदेशस्तरीय खुला पौडी प्रतियोगिता आयोजना भएको थियो । कोशी प्रदेश पौडी संघको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको उक्त प्रतियोगितामा प्रदेशका सबै १४ जिल्लाबाट करिब १६० जना खेलाडी तथा टिम व्यवस्थापक सहभागिता रहेको थियो ।

प्रतियोगितामा जम्मा २३ वटा इभेन्ट समावेश गरिएका थिए ।

जेठको पहिलो साता सदस्यसचिव बस्नेतसहित बोर्डका कर्मचारीहरूले पहाडी जिल्लाहरूका खेलकुद समिति मातहतको कार्यालय तथा खेलकुदको संरचनाको अनुगमन तथा खेलक्षेत्रका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेका थिए ।

प्रदेशका १४ जिल्लाकै खेलकुद संरचनाको अनुगमन, निरीक्षण र अन्तरक्रियाको क्रममा हाल बोर्डले प्रदेशका पहाडी जिल्लाहरूमा खेलक्षेत्रका सरोकारवालाहरू, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, निजीक्षेत्रसँग अन्तरक्रिया गरेको हो ।
प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा झापास्थित गौरादहमा प्रथम कोशी प्रदेशस्तरीय कुस्ती प्रतियोगिता भएको थियो ।

जेठ ४ देखि ६ गते सम्म गौरादह कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जित्यो । प्रतियोगितामा ९ पदक सहित मोरङ प्रथम हुँदा ५ पदक सहित झापा दोस्रो र ३ पदक सहित सुनसरी तेस्रो भयो ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले उत्तर कोरियामा तेक्वान्दो खेलको ७०औँ नामकरण दिवसको सम्झनामा आयोजना भएको कार्यक्रममा सहभागी हुन कोरिया जान लागेका नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रविणकुमार कार्कीलाई बिदाइ गरेको थियो ।

कोरियन तेक्वान्दो कमिटीको निमन्त्रणामा जेठ २९ गतेदेखि असार ५ गतेसम्म उत्तर कोरियाको राजधानी प्याङयाङमा भएको विभिन्न कार्यक्रममा उनी सहभागी भएका थिए ।

जेठ २४ गतेदेखि १५औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु भएको थियो ।

शहिद रंगशालामा प्रदेशका ११ जिल्लाका खेलाडीहरुको सहभागिताको उद्घाटन कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर विष्टले गरेका थिए ।

छनोट प्रतियोगितामा ११ जिल्लाबाट भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु र एथलेटिक्स खेलमा झन्डै १ हजार खेलाडीको सहभागिता रहेको थियो ।

छनोट प्रतियोगितामा विजयी भएका खेलाडीहरूले जेठ २८ देखि ३० सम्म काठमाडौँमा भएको राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गरेका थिए ।

छनोट प्रतियोगिताका विजेता खेलाडीहलाई बिदाइ गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १५औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने प्रदेशका खेलाडीलाई १ लाख रकमसहित सम्मान गर्ने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रपति रनिङ शिल्डमा कोशी प्रदेशको प्रतिनिधित्व गर्दै खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरेर ११५ जनाको सहभागिता रहेको थियो । जसमा कोशी प्रदेशले ७ रजत र ८ कांस्यसहित १५ पदक जित्यो ।

बोर्डको संयोजन तथा विराट कोशी जुडो क्लबको आयोजनामा जेठ २६ र २७ गते कोशी प्रदेशस्तरीय जुडो प्रतियोगिता भएको थियो ।

सहिद रंगशालामा भएको प्रतियोगिताको विभिन्न तौल प्रतिस्पर्धामा ५ स्वर्ण प्राप्त गर्दै सोलुखुम्बु जिल्लाले उपाधि जित्यो ।

प्रतियोगितामा आयोजक विराट क्लब ४ स्वर्ण ३ रजत र ४ कास्य पदकसहित दोस्रो स्थानमा रहेको थियो भने ३ स्वर्ण सहित ओखलढुङ्गा तेस्रो स्थानमा रहन सफल भएको थियो ।

सोही प्रतियोगितामा क्लबले १३औँ साग गेम्समा स्वर्ण पदक जित्न सफल झापाकी देविका खड्का, तेस्रो र चौथो दक्षिण एसियालीमा पदक प्राप्त विजेता काजी शेर्पा, पेरिस ओलम्पिकमा सहभागी खेलाडी पाँचथरकी मनिता श्रेष्ठ प्रधान र जुडो खेलका अन्तर्राष्ट्रिय निर्णायक ओखलढुङ्गाका सुर्यनारायण श्रेष्ठलाई सम्मान गरेको थियो ।

असार ७ गते विराटनगरमा ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बोर्डको संयोजनमा प्रदेशस्तरीय योग खेलकुद प्रतियोगिता आयोजना भएको थियो ।

विराटनगरमा भएको उक्त प्रतियोगितामा सुन्दर सार्की र चाँदनी परियारले मिस्टर योगी र मिस योगीको उपाधि जिते ।

पुरुषतर्फ उत्कृष्ट तीन प्रतिस्पर्धीलाई उछिन्दै सुन्दर मिस्टर योगी घोषित् हुँदा महिलातर्फ सर्वोत्कृष्ट ठहरिँदै चाँदनीले मिस योगीको ट्रफी उचालिन् ।

पण्डित घनश्याम–चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका विभिन्न जिल्लाका ५१ प्रतियोगी सहभागी भएका थिए ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा बोर्डका सदस्यसचिव कृष्ण बस्नेत ‘पर्शुराम’, कोशी प्रदेशसभा सदस्यद्वय भीम पराजुली र जयप्रकाश चौधरी तथा जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईको उपस्थिति रहेको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले योग खेलकुद प्रतियोगितालाई वार्षिक तालिकामा राखेर आगामी वर्षहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।

असार दोस्रो साता कोशी प्रदेश खेलकुद विकास बोर्डको खेलकुदसम्बन्धी अन्तर प्रदेश भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

बोर्डले अन्तर प्रदेश भ्रमण तथा आदान प्रदान कार्यक्रमको क्रममा गण्डकी, बागमती र मधेश प्रदेशका समकक्षी बोर्ड र परिषद्को भ्रमण गर्दै अनुभव आदान प्रदान गरेको थियो ।

असार १० र ११ गते प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा विराटनगरमा दुई दिने खेलकुद पत्रकारिता तालिम सम्पन्न भएको थियो ।

खेलकुद विधामा रिपोर्टिङ लेख्ने पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कोशी ब्रोडकास्टिङ नेटवर्कले तालिम आयोजना गरेको थियो ।

तालिममा सहभागी भएका धनकुटा, झापा, सुनसरी र मोरङका १५ जना खेलपत्रकारलाई नेपाल पत्रकार महासंघ, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष बानियाँ र पूर्वअन्तर्राष्ट्रिय रेफ्री किरण गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।

तालिमको अनुगमन गर्दै कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले खेलकुदलाई उकास्न काम गरिरहेको बताएका थिए ।

तालिममा रेडियो कान्तिपुरका स्टेसन म्यानेजर तथा खेलपत्रकार पवन आचार्यले खेलपत्रकारिताको इतिहास, खेलकुदको रिपोर्टिङ र सम्पादनका विषयमा सहजीकरण गरेका थिए ।

यसैगरी, असार तेस्रो साता उसु संघ मोरङको आयोजना तथा बोर्डको सहकार्यमा कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता आयोजना भएको थियो ।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, संखुवासभा जिल्लाका ११२ जना खेलाडी सहभागी भएका थिए ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभएको प्रतियोगिताका विजेताले मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका थिए ।

मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा असार २१ गते दोस्रो मोरङ जिल्ला स्तरीय आईटीएफ प्रतियोगिता सम्पन्न भएको थियो ।

विराटनगरमा भएको प्रतियोगितामा ७ स्वर्ण जित्दै डाँगीहाट आईटीएफ तेक्वान्दो डोजाङले उपाधि जित्यो ।

प्रदेश खेलकुद विकास बोर्डले असार २० र २१ गते दुई दिने अन्तरक्रिया र छलफल कार्यक्रम गर्दै कोशी प्रदेश खेलकुदसम्बन्धी घोषणापत्र जारी गर्दै सम्पन्न भयो ।

खेलकुद सरोकारवाला, निजी क्षेत्र, स्थानीय तहसँग अन्तरक्रिया र छलफल कार्यक्रम २१ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

बोर्डले जारी गरेको घोषणापत्रमा सङ्घीय सरकार, कोशी प्रदेश सरकार र सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा निर्माण हुने कोशी प्रदेश खेलकुद ग्रामको निर्माणलाई तीव्रता दिन पहलकदमी लिने, खेलाडीलाई नियमित प्रशिक्षणलाई अनिवार्य गर्ने साथै रिफ्रेस कोर्स तालिमहरू सञ्चालन गर्ने, खेलाडी अभिभावक अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने बाट उल्लेख गरिएको छ ।

त्यस्तै, घोषणापत्रमा खेलकुदको विकासमा निजी क्षेत्रलाई महत्वपूर्ण साझेदारका रूपमा स्वीकार गरी खेलकुद क्षेत्रमा निजी क्षेत्रले गर्ने लगानीको अभिलेखीकरण गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको सहयोग खेलकुद क्षेत्रमा लगानी गर्ने कानुनी व्यवस्था निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने, प्रदेश सरकार समक्ष खेल क्षेत्रमा प्राथिमिकता तय गर्न आवश्यक सल्लाह र सुझाव पेश गर्ने जनाइएको छ।

प्रदेशमा खेल पूर्वाधार निर्माणमा सार्वजनिक–निजी साझेदारी अवधारणालाई अघि बढाउन प्रदेश सरकार समक्ष सुझाव पेश गर्ने, प्रदेशमा साहसिक खेलकुद पर्यटनको अवधारणा अघि बढाउन पहल गर्ने कुरा समेत उल्लेख गरिएको छ ।

बोर्डले छोटो समयमा उल्लेखनीय काम गरेको छ तर दीर्घकालीन सफलताका लागि संरचनागत सुधार, पारदर्शिता र खेलाडी कल्याणमा थप जोड दिनुपर्ने देखिन्छ ।

खेलकुदबाट आजीविका चलाउने वातावरण निर्माण गर्न सके मात्र खेलाडी पलायनको समस्या समाधान हुनेछ र कोशी प्रदेश साँच्चै खेलमय बन्न सक्नेछ ।

प्रकाशित समय: शुक्रबार २७ असार, २०८२, १६:४०:३०
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
संघर्षपूर्ण जित: नेपालले यूएईलाई ६ रनले हरायो
शुक्रबार १८ ब‌ैशाख, २०८३
नेपालमै पहिलोपटकः अब बर्जु-१ का सेवाग्राहीले फोन गर्नेबित्तिकै लिन आइपुग्छ सिटी सफारी, लाग्दैन कति पनि पैसा !
शुक्रबार १८ ब‌ैशाख, २०८३
अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेटवार्ता
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०