‘के फुरौं, के फुरौं भन्दै थिएँ, एका बिहानीको समय ।’
शनिबारको दिन थियो । के कता के गर्दै बिहानीको समय नुहाई धुवाई । के-के न के-के यो शनिबार झन फुर्सदै नहुने। बिहानीको समय कट्दै दिनमा परिणत भइसकेको थियो । अब त फुर्सद भो भन्दै थिएँ, आफैं मनमनै ।
कलम खोज्छु देख्तिनँ, डायरी हेर्छु, दराज माथिको टाउकोमा । डायरी समाएँ । डायरीभित्रै पो छ कि कलम ? डायरी उल्टाई, पल्टाई गरे कतै डायरीमै सिउरीएको छ कि कलम ? अँह त्यहाँ पनि थिएन ।
छोराछोरी पनि थिएनन् ।श्रीमती हाट बजार । घरमा छु म । कलम खोज्दा निराश भैसकेको थिएँ । बिच्छौनीको सिरानीमा टाउको राख्दा, हात छातीमा पर्यो । छातीमा हात के राखेको थिएँ । कलम र हातको संयोग भेट भयो । सेन्डो गन्जीमा सिउरीएको रहेछु । आफैंले आफैंलाई धिक्कारे, ‘थुइया ।’
फेरि डायरीसँगै कलमले साहित्यिक भाषा कोर्न थाल्यो । मनमनै गफिएँ, ‘के फुर्ने, के शीर्षक राखौं ?’ कता कता आज श्रीमतीकै कथा फुर्नुपर्यो । आफ्नै व्यथा फुर्नु पर्यो ।
फुर्यो पनि फेरि त्यस्तै, नारी दिवसमा, पुरुष दिवस । डायरीमा फुरिसकेको कलम र डायरीसँगै राखिदिएँ, ताकि उनले पढून् । छोराछोरी कता पुगेर घरतिर झुल्किए । टेबलमा राखेर छोराछोरीलाई भनें,- ‘मम्मी आएपछि पढ्न भन्नु हैं । म एकछिन साँझको हावा खाएर आउँछु ।’
छोराछोरीको जवाफ थियो, ‘हवस बाबा ।’
उनी आइन घरको अँगेनीमा । छोराछोरी डायरी लिदै अँगेनीमै पुगे, भनेछन्, ‘मम्मी तपाईंलाई बाबाको लभ लेटर छ ।’ उनी गाली गर्न थालिन् छोराछोरीलाई, ‘तिम्रा बाबा अब लभ लेटर लेख्तैनन्, साहित्यक रचना लेख्छन् । हाम्रो ऊ बेला लभ लेटर चल्थ्यो, अब साहित्यिक रचना लेख्नुहुन्छ, खै के लेख्नु भको छ हेरौं त ?’
उनले पढिछन् यसरी, ‘नारी दिवसमा पुरुष दिवस खै कहिले ?’
उनले यति पढेपछि मोबाइलमा फोन गरिन, ‘हजुर कता हो ? घर आइस्यो ?’
म अचम्म थिएँ, ‘बिहान सम्मको चर्को स्वर ओहो !’ मेरो कलम डायरीले गर्दा, श्रीमती सुध्रिछे, स्वभाव परिवर्तन गरिछन्, ‘एक्कासी मोबाइलमा उनलाई जवाफ दिएको थिएँ, ‘म आउँदैछु ।’ मनमनै फेरि, कलमलाई सम्झिएँ, डायरीलाई सम्झिएँ, ‘काहीं गलत त्रुटी त छैन ?’
विराटनगर-६, ममता-मार्ग ।