विराटनगर । सुदूरपश्चिम रोयल्स काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो ।
यससँगै लिग चरणमा ७२ रनको फराकिलो हारको बदला लिन खोजेको जनकपुरको लक्ष्य असफल रह्यो । अब, जनकपुरले फाइनल प्रवेश गर्न दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
कर्णालीले इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।
विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम अन्तिम दुईमा प्रवेश गरेको हो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले आठ बल बाँकी रहँदा दुई विकेट गुमाएर १४१ रन बनायो ।
सुदूरपश्चिमका विनोदले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए । ५५ बल खेलेका उनले तीन चौका र तीन छक्का प्रहार गरे ।
जारी प्रतियोगितामा उनको यो पहिलो अर्धशतक हो । कप्तान दीपेन्द्र २० रनमा अविजित रहे ।
सैफ जैब र विनोदले सुरुआतमै सुदूरपश्चिमलाई राम्रो सुरुआत दिलाएका थिए । यी दुई ब्याटरले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे ।
२१ बल खेलि तीन चौका र दुई छक्कासहित ३२ रन प्रहार गरेका उनी आठौं ओभरको तेस्रो बलमा जिमी निसमबाट क्याच भए ।
तर, विनोदले ब्रान्डन म्याकमुलनले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई जितनजिक पुर्याए ।
म्याकमुलन १४.१ ओभरमा निसमबाटै क्याच भए । उनले २५ रन बनाए । जनकपुरका ललितनारायण राजवंशी र किशोर महतोले समान एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
जनकपुरले सुरुआत राम्रो गर्न सकेन । तेस्रो ओभरको पाँचौं बलमा लाहिरु मिलान्था १२ रनमा एलबीडब्ल्यू आउट भए भने आसिफ ११ रनमै पेभिलियन फर्किए ।
यससँगै जनकपुरले पावरप्लेदेखि नै दबाब महसुस गर्दै ३७ रन मात्र बनायो ।
यसपछि पनि शुभ कांशकारले २६ रन, हर्ष ठाकरेले १२ रन, र अरनिको यादवले ११ रन बनाए । यद्यपि, टोलीले अपेक्षित गतिमा रन जोड्न सकेन ।
अन्तिमतिर जिमी निसमको आक्रामक ब्याटिङले जनकपुरलाई सम्मानजनक स्कोरतर्फ डोर्यायो । उनले २३ बलमा तीन चौका र एक छक्कासहित ४५ रन बनाउँदै इनिङ्स सम्हाले । जिमी खेलको अन्तिमतिर बोल्ड आउट भए ।
बलिङतर्फ सुदूरपश्चिमका दीपेन्द्रले सर्वश्रेष्ठ प्रदर्शन गरे। उनले चार ओभरमा २९ रन खर्चिएर तीन विकेट लिए । सैफले दुई विकेट लिए भने स्कट कुग्लेनले पनि एक विकेट लिएर महत्त्वपूर्ण योगदान दिए ।