त्यो भूगोलबाट
यो भूगोल थर्किनेगरी आएको
यो भयङ्कर आवाज चीत्कार हो ।
म यति विचलित छु कि
चीत्कार सुन्न नसकेर
स्वयं चीत्कार गरिरहेछु ।
अश्रुपुरित स्वयम्भूका एकजोर आँखा बोकेर
मेरो देश यतिबेला
अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा उभिएको छ,
मेरा आदर्श नेताहरु सिंहदरबारभित्र
तलबभत्ताको हिसाब मिलाउँदैछन् ।
एउटा ठूलो शङ्का जन्मिएको छ-
के तिनीहरू मान्छे नै हुन् ?
– जो मारिरहेछन् मान्छेहरू ।
तपाईं पनि सुन्न विवश हुनुहुन्छ
यो बीभत्स आवाज ।
उनीहरू ;
जो गर्भमै छन्
अथवा
दूध चुसाउँदा चुसाउँदै
मारिएकी आमालाई उठाउन
तिनको अङ्गालोबाट चीत्कार गरिरहेछन् ,
मनभरि जिजीविषा बोकेर
भाग्दाभाग्दै खरानी भएकाछन् ।
देख्दैछु-
तपाईं पनि देख्दै हुनुहुन्छ-
केही थान राइट दाजुभाइहरू,
केही थान नाइटिङ्गेलहरू,
केही थान कोलम्बसहरू,
केही थान आइन्सटाइनहरू
बारुदे सुरुङभित्र मारिएका छन् ।
हो;
केही थान सुकरातहरू,
केही थान बुद्धहरू,
केही थान शेक्सपियरहरू,
केही थान टेरेसाहरू
ज्यानको भिख माग्दामाग्दै मारिएका छन् ।
उ: फेरि अर्को आवाज आयो,
मानवताहीन बन्दुकको नाल अघिल्तिर
मरिरहेका मान्छेहरुको चीत्कार हो यो ।
यो युद्ध हुँदै होइन,
कथित धर्मरक्षाका लागि
मान्छेको बली दिने
बधशाला हो यो ।
म के गरुँ ?
मुसलमान बनेर हातमा बन्दुक बोकौँ कि
यहुदी बनेर मान्छे विरुद्ध बारुद बिछ्याऊँ ??