विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा) दुहबीका प्रभावशाली नेता रहमत मियाँ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
उनी बिहीबार बिहान नेकपा एमालेकी सांसद भगवती चौधरीसँग टीका लगाएर एमालेमा प्रवेश गरेका थिए ।
जसपाको दुहबी नगरका कार्यकर्तासँगै एमाले प्रवेश गरेका रहमत आफ्नो इच्छा नहुँदा नहुँदै जबरजस्ती एमालेमा प्रवेश गराएको भन्दै असहमति जनाएर कांग्रेसमा होमिएका हुन् ।
एमाले प्रवेश गरेको केही घण्टामै उनी कांग्रेसमा होमिए ।
आज नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छादार, नेपाली कांग्रेस दुहबी नगर सभापति बेद गच्छादार, सुनसरी क्षेत्र नम्बर ३ सभापति मेहेदि हुसैन, क्षेत्रीय कोषाध्यक्ष मुस्तकिम मियासमेत सरिक गढी गाउँपालिकाको एक कार्यक्रममा रहमत कांग्रेसमा प्रवेश गरेका हुन् ।
दुहबी ४ निवासी हार्डवेयर ब्यवसायी मियाँको लामो राजनैतिक दखल रहेको छ ।
मियालाई कांग्रेसमा भित्राउन नगरसभापति बेद गच्छादार र क्षेत्रीय सभापति मेहेदि हुसैनको ठुलो भूमिका रहेको छ ।