राजनीतिको मैदानमा केपी शर्मा ओली र बालेन्द्र साह बालेन विपरीत ध्रुवमा उभिन्छन् । जेल-नेल भोगेको अनुभवले निखारिएका छन्, ७४ वर्षीय ओली । अर्कोतिर ३६ वर्षीय बालेनसँग युवा सपनाको आँट छ । ओली वामपन्थी विचारको बाटोमा हिँडेका छन्, बालेनले स्वतन्त्र राजनीतिको झन्डा बोकेका छन् ।
भिन्न विचार, भिन्न दल, भिन्न बाटो छ, उनीहरूको । तर, बुबासँगको वियोगले भने बालेन र ओलीलाई एउटै ठाउँमा ल्याएको छ । शोकको कुनै दलीय रंग हुँदैन, आँसुको कुनै वैचारिक सीमा हुँदैन भन्ने कुरा प्रमाणित भएको छ ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भयो। भक्तपुरको कोरियन अस्पतालमा अन्तिम सास फेरेका उनलाई पशुपति आर्यघाटमा अन्तिम विदाइ दिइयो ।
नेपाली राजनीतिमा बलिया नेता मानिने ओलीले छोराको धर्म निभाउँदै कपाल खौराए, एउटा दुःखी छोरो बनेर । भर्खरै संसदीय निर्वाचनमा पीडादायी हार खेपेका ओलीले जेनजी विद्रोहका बेला घर गुमाएका थिए । आन्दोलनपछि पनि सत्तोसराप गर्नेहरूले उनलाई ज्युँदै श्रद्धाञ्जली अर्पण गरिरहे ।
त्यसबीचमा चुनाव आयो, जसमा उनले दर्दनाक हार सहन गर्नुपर्यो । आफ्नो विरासतमा चुनावी हार भएको नतिजा आएको केही दिनमै बुबा अस्ताएपछि स्तब्ध थिए, ओली ।
तर, आँशुसहित शोकमा रहेला ओलीलाई सान्त्वना दिँदै उनै बालेन अगाडि सरे । कुनैबेला ओलीलाई अपुतो भन्दै सामाजिक सञ्जालमा लेख्ने बालेनले पितृशोकमा रहेका उनको पक्षमा शब्द खर्चिए ।
हुन त ती शब्द केवल औपचारिकता थिएनन्, त्यसभित्र आफ्नै पीडाको प्रतिध्वनि थियो । “केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ — पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।”
यी शब्दहरू पढ्दा थाहा हुन्छ, बालेन केवल ओलीलाई सहानुभूति दिइरहेका थिएनन्, आफ्नै भित्री चोटलाई पनि स्पर्श गरिरहेका थिए ।
उनले संस्कृतको एउटा पुरानो श्लोक उद्धृत गरे —
नास्ति पितृसमं त्राता, नास्ति पितृसमो गुरू:।
नास्ति पितृसमं दैवं, तस्मै श्रीपितृदेवाय नमः॥
पिता रक्षक हुन्, गुरु हुन्, देवता हुन् — र जब त्यो छहारी हट्छ, संसार अचानक खुला र कठोर लाग्न थाल्छ । राजनीतिमा फरक स्थितिमा रहेपनि, शोकको यस घडीमा दुवै एउटै कित्तामा छन् । दुवैले बुझेका थिए, पिताको ठाउँ कसैले पूरा गर्न सक्दैन ।
साँच्चै, पिता भन्ने पात्र यस्तै हुन्छ । घरमा आश्रय, जीवनमा मार्गदर्शन, मनमा साहस, एकै व्यक्तिले यति धेरै भूमिका खेल्छ कि उनी गएपछि ती सबै भूमिकाको रिक्तता एकसाथ महसुस हुन्छ ।
हरेक छोरो, चाहे जतिसुकै ठूलो भए पनि, बाबु गुमाएपछि एकपल अनाथ नै भएको अनुभव गर्छ । ९७ वर्षका मोहनप्रसाद ओली, जो छोरोको राजनीतिमा ब्रेक देखेर अस्ताए । तर, बालेनका बुबा, रामनारायण साहले आफ्ना छोरालाई नेपालको प्रधानमन्त्री भएको देख्न पाएनन् ।
काठमाडौंको मेयर बन्दै गरेको देखेका रामनारायणले छोरो अप्रत्याशित जित आत्मसात् गर्दै सांसद बनेर प्रधानमन्त्रीसम्म बन्छ भन्ने अड्कल-अन्दाज पनि गर्न पाएनन् ।
यो प्रसंगले राजनीतिक प्रतिस्पर्धा, आलोचना र मतभेदबीच पनि सहानुभूति, संवेदना र मानवीयता जीवित रहन्छ भन्ने कुरा देखाएको छ । आखिर सत्ता, विचार र पदभन्दा माथि मानवीय सम्बन्ध र भावनाहरू हुन्छन् । राजनीतिमा मतभेद हुन सक्छ, तर दुःख र संवेदनामा सबै एउटै मानवीय परिवारका सदस्य हुन् ।