विराटनगर— मार्टर्स मेमोरियल फाउण्डेसनको अध्यक्षमा शिक्षासेवी विष्णु डंगोल नियुक्त भएका छन्। शुक्रबार विराटनगरमा आयोजित विशेष कार्यक्रममा नवनियुक्त अध्यक्ष डंगोलको पदस्थापन गरिएको हो।
डंगोल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङका उपाध्यक्ष समेत हुन्। लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय उनले फाउण्डेसनको नेतृत्व सम्हाल्दै विराटनगरमा नयाँ शैक्षिक योजना अघि बढाएका छन्।
फाउण्डेसनले आगामी शैक्षिक सत्रदेखि ‘मार्टर्स मेमोरियल प्लस टु’ सञ्चालनमा ल्याउने तयारी गरेको छ। ३१ जना सञ्चालकहरू संलग्न रहेको यस कलेजलाई विराटनगरकै नमुना शैक्षिक संस्था बनाउने लक्ष्य राखिएको छ।
कलेजका प्रिन्सिपल सिएम श्रेष्ठका अनुसार विराटनगरलाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने संकल्पका साथ करिब ७ करोड रुपैयाँको लगानीमा परियोजना अघि बढाइएको हो। उनका अनुसार विराटनगर–१०, निलसदन दक्षिणस्थित साढे ५ कट्ठा जग्गामा कलेजको चारतले अत्याधुनिक शैक्षिक भवन निर्माण भइरहेको छ।
‘हामी आगामी तीन महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ तीव्र रूपमा काम गरिरहेका छौँ,’ प्रिन्सिपल श्रेष्ठले भने, ‘भवन पूर्ण रूपमा वातानुकूलित हुनेछ भने स्मार्ट कक्षाकोठा र आधुनिक प्रयोगशालाको सुविधा पनि रहनेछ।’
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना हुन लागेको यस कलेजले विराटनगरको शैक्षिक गरिमालाई थप उचाइमा पुर्याउने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।