विराटनगर – नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) सुनसरी च्याप्टरको आयोजनामा ‘एनवाईईएफ एमेच्योर गल्फ प्रतियोगिता–२०२६’ हुने भएको छ। प्रतियोगिता धरानस्थित गल्फ कोर्समा फागुन १६ गते आयोजना गरिनेछ।
आयोजकका अनुसार एकदिने प्रतियोगितामा ६० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहनेछ। एनवाईईएफ सुनसरीका अध्यक्ष राजीव घिमिरेले प्रतियोगितामा १५० भन्दा बढी उद्यमी, व्यवसायी तथा पेशाकर्मीहरूको उपस्थिति रहने अपेक्षा गरिएको बताए। उनका अनुसार यस कार्यक्रमले खेलकुदसँगै उच्चस्तरीय व्यवसायिक नेटवर्किङ मञ्चको रूपमा समेत भूमिका खेल्नेछ।
प्रतियोगिताको मुख्य उद्देश्य खेलभावना प्रवर्द्धन गर्नुका साथै युवा उद्यमीहरूबीच सहकार्य, नेतृत्व विकास र सम्बन्ध विस्तार गर्नु रहेको आयोजकले जनाएको छ। साथै, यस कार्यक्रमले धरानलाई राष्ट्रियस्तरको खेलकुद तथा व्यवसायिक नेटवर्किङ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
एसजी ग्रुप सह–प्रवर्द्धक रहेको प्रतियोगिताबाट संकलित रकमको केही अंश स्थानीय युवा प्रतिभा प्रोत्साहन तथा धरानका जुनियर गल्फ खेलाडीहरूको क्षमता अभिवृद्धिमा खर्च गरिने तयारी गरिएको छ।
एनवाईईएफ सुनसरीको आयोजनामा हुने यस प्रतियोगितालाई एनवाईईएफ राष्ट्रिय गभर्निङ काउन्सिलले आधिकारिक रूपमा अनुमोदन गरिसकेको जनाएको छ।