सुनसरी — नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान, व्यवस्था र देश जोगाउन कांग्रेसलाई मत हाल्नुपर्ने बताएका छन्।
चुनावी अभियानका क्रममा सुनसरी–४ पुगेका थापाले कांग्रेस बाहेकका दललाई मत दिए संविधानले प्रदान गरेका अधिकार जोगाउन नसकिने दाबी गरे।
‘यो निर्वाचनको परिणामबाट प्राप्त हुने शक्तिको आधारमा संविधान पनि जोगाउनुछ, व्यवस्था पनि जोगाउनुछ, देश पनि जोगाउनुछ,’ उनले भने, ‘संविधानले दिएको अधिकारहरू जोगाउन आजको मितिमा कांग्रेस बाहेक अरू कुनै पनि पार्टीले सक्दैन।’
सभापति थापाले बदलिएको कांग्रेसले गरेको संकल्पप्रति जनताले विश्वास गर्ने विश्वास व्यक्त गरे। ‘देशको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेस हो, त्यसमा हामी गौरव गर्छौं,’ उनले भने, ‘देशको सबैभन्दा नयाँ सोच भएको पार्टी पनि कांग्रेस नै हो।’