एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले पुनः आफ्नो दबदबा कायम राख्दै लेभान्टेलाई ४–१ ले पराजित गरेको छ । यस जितसँगै रियल मड्रिडले लगातार छैटौँ जित हात पार्दै शीर्ष स्थानमा आफ्नो दाबेदारी बलियो बनाएको छ ।
खेलको सुरुवाती २० मिनेटमै रियल मड्रिडले आक्रामक खेल प्रस्तुत गर्यो । भिनिसियस जुनियरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
त्यसपछि उनीद्वारा गरिएको उत्कृष्ट पासलाई युवा खेलाडी फ्रांको मास्तान्तिनोले गोलमा परिणत गर्दै आफ्नै पहिलो ला लिगा गोलको खुसी मनाए ।
यद्यपि, लेभान्टे पनि खाली हात बस्न चाहन्थेन । पहिलो हाफको अन्त्यतिर एट्टा इयाङले सुन्दर प्रहारमार्फत एक गोल फर्काए ।
तर दोस्रो हाफमा मैदानमा किलियन एम्बाप्पेको जादु देखियो । उनले पेनाल्टीमार्फत पनेन्का गोल गर्दै दर्शकलाई रोमाञ्चित बनाए र त्यसपछि अर्को गोल थप्दै स्कोर ४–१ मा पुर्याए ।
यो जितसँगै नयाँ प्रशिक्षक जाबी आलोन्सोको रणनीति सफल देखिएको छ । युवाशक्ति र अनुभवको संयोजनले टोलीलाई नयाँ उचाइमा पुर्याएको धेरैको धारणा छ ।
आलोन्सोले खेलपछि भने, “टोलिले देखाएको आत्मबल र लय प्रशंसनीय छ। हाम्रो लक्ष्य निरन्तरता कायम राख्दै उपाधि तर्फ अघि बढ्नु हो।”
एमबाप्पेको आगमनपछि रियल मड्रिडले मैदानभित्र मात्र होइन, बाहिर पनि ठूलो सफलता पाएको छ ।
क्लबको जर्सी बिक्री, टिकट माग र सामाजिक सञ्जालमा लोकप्रियता अभूतपूर्व रूपमा बढेको छ। धेरै विश्लेषकहरूले यसलाई क्लबको दीर्घकालीन सफलता र आर्थिक सुदृढीकरणसँग जोडेर व्याख्या गरेका छन्।
यसैबीच, समर्थकहरूले टोलीको प्रदर्शनप्रति उत्साह प्रकट गरेका छन्। मड्रिडका एक समर्थकले भने, “यो केवल जित होइन, भविष्यको संकेत हो। रियल मड्रिड फेरि आफ्नो पुरानो ग्लोरी तर्फ फर्कँदैछ ।”