काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेकी छन् ।
शनिबार काठमाडौँमा जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
अब एमालेमै रहेर जीवनभर पार्टीको काम गर्ने अठोट गरेको उनले घोषणा गरेकी हुन् ।
उनले सक्रिय राजनीतिमा काम गर्ने अभियानका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले उल्लेख गरिन् ।
उनले पार्टी सदस्यता नवीकरणसँगै एमालेको परिवारको एक सदस्यको रूपमा जोडिएको तर आफूसँग विशिष्ट आकाङ्क्षा नभएको बताएकी छन् ।
‘‘फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले)मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु’’, उनले भनिन् ।
‘‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन,’’ उनले थपिन् ।