विराटनगर । पछिल्लो केही समययता नेपालमा राजसंस्था फर्काउन मागसहित सडक र वैचारिक आन्दोलन भइरहेको छ ।
राजावादीहरूले चैत १५ गते काठमाडौंमा गरेको आन्दोलनमा परी दुई जनाको मृत्यु भएको थियो । नेपालमा राजतन्त्र फर्काउन छिमेकी राष्ट्र भारतले इच्छा जताएको भन्दै बहस पनि भइरहेको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपालमा राजसंस्था पुनःस्थापनाको लागि उचालेको भन्ने हल्ला छ ।
आन्दोलनका क्रममा आदित्यनाथको फोटोसमेत देखिएको थियो । यसैले पनि भारत नेपालमा राजतन्त्र फर्काउन कम्मर कसेर लागेको चर्चा छ ।
तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको दाबी गरेका छन् ।
नेपालमा राजसंस्था पुनस्र्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो रहेको उनको जिकिर छ ।
आदित्यनाथले भारतमा रहेको नेपालमा राजा ल्याउने पक्षमा आफू नरहेको स्पष्ट पारिसकेको देउवाले बताए ।
नेपाली जनताले जे चाह्यो त्यही हुने बताउँदै आफू राजा ल्याउने पक्षमा नरहेको कुरा आदित्यनाथले भनेको देउवाले स्मरण गराए ।
देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि बताए ।
नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताए ।