विराटनगर । मोरङको रंगेली नगरपालिकाले संघीयतापछि आफ्नै मातहतमा राखेर सञ्चालनमा ल्याएको रंगेली अस्पतालले हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार सेवा दिइरहेको छ ।
छिमेकी पालिकाहरूदेखि छिमेकी मुलुक भारतसम्मका बिरामीले उपचार सेवा लिइरहेको यस अस्पतालमा हालसम्म ८० जनाले निःशुल्क उपचार सेवा लिएका छन् ।
आइसियूसहितको यस नगर अस्पतालबाट शल्यक्रियादेखि लिएर सबै उपचार निःशुल्क रूपमा भइरहेको छ ।
स्वास्थ्य कार्यालय मोरङसँगको सहकार्यमा शिविरमार्फत रंगेली अस्पतालले चैत ३ गतेबाट निःशुल्क सेवा दिइरहेको छ ।
सेवा सुरु भएयता अस्पतालबाट ८० जनाले सेवा पाइसकेका छन् । सेवा पाउनेमा युवा र वृद्ध रहेका छन् ।
मोरङका रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथानसहित झापाको गौरीगन्जका २० देखि ६७ वर्षसम्मकाले हाइड्रोसिल र हर्नियाको निःशुल्क शल्यक्रिया गराएको अस्पतालले जनाएको छ ।
अस्पतालका चिकित्सक डा. हरेराम माझीका अनुसार पानी भरिएर पुरुषको अण्डकोष ठूलो हुनु नै हाइड्रोसिल हो ।
अण्डकोषको नियमित सरसफाइ नगरेमा संक्रमण भएर हाइड्रोसिल हुने उनको भनाइ छ ।
डा. माझीका अनुसार धेरै समयसम्म कडा परिश्रम गर्ने, भारी सामान बोक्नेहरुलाई बढी मात्रामा हाइड्रोसिल र हर्निया भएको पाइन्छ ।
रंगेली नगरपालिका–५ का शिवा मण्डलले पछिल्लो समय गाउँघरमा धेरै जनालाई हाइड्रोसिल र हर्नियाको समस्या देखिने गरेको बताए ।
तर, निःशुल्क सेवा पाउँदा आर्थिक अवस्था कमजोर भएकालाई राहत मिलेको उनको भनाइ छ ।
शिविरमार्फत रंगेली अस्पतालले हाइड्रोसिल र हर्नियाको निःशुल्क उपचार सुरु गरेपछि बिरामीको चाप पनि बढेको छ ।
बिरामीको चाप अत्यधिक रहेकाले शिविरको समय थप हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालय मोरङका अनिल देवले बताए ।
आइसियुलगायत सेवाका लागि विराटनगरलगायत अरूतिर जानुपर्ने बाध्यता टार्न भन्दै गत वर्ष नगरपालिकाले आइसियु सेवा सञ्चालनमा ल्याएको थियो ।
नगप्रमुख दिलीपकुमार अग्रवालले नगरभित्रका नौवटै वडामा बिमा कार्यक्रम लागू गरेका छन् ।
जेष्ठ नागरिक–अपांगता भएका बिरामीलाई निःशुल्कै बिमा गरिदिएको उल्लेख गर्दै नगरबासीलाई स्वास्थ्यको पहुँचमा ल्याउने काममा आफूहरू अग्रसर भएको उनले सुनाए ।