विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका रोहित यादवलाई फोन गरेर बधाई दिएका छन् ।
प्रचण्डसँगको टेलिफोन संवादमा रोहितले प्रचण्ड मोरङमा प्रवेश गरेकै दिन आफूलाई जितको महसुस भएको बताएका थिए ।
हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानका क्रममा प्रचण्ड गत फागुन १४ गते महेन्द्र मोरङ क्याम्पसमा पनि पुगेका थिए ।
‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्ने भनेको एउटा इतिहास रच्नु हो,’ प्रचण्डले टेलिफोनमा भनेका छन्, ‘देशभरि एउटा निकै राम्रो सन्देश गइसक्यो, अब हामी भोलि धेरै राम्रो गर्न सक्छौं ।’
मंगलबार सम्पन्न निर्वाचनमा अखिलका रोहित यादव सभापति पदमा विजयी भएका हुन् । यादव ४३ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् । यादवले १ हजार १ सय १८ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का प्रज्वलजंग विष्टले १ हजार ७५ मत पाए । अनेरास्ववियुका अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे । २ हजार ६ सय ३१ मत खसेको थियो । महेन्द्र मोरङमा ५ हजार ९ सय ८४ मतदाता थिए ।
त्रिभुवन विश्वविद्यालयको तीन आंगिक क्याम्पससहित मोरङमा १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा तीनवटै आंगिक क्याम्पससहित ५ वटा क्याम्पसको स्ववियु सभापति अखिल क्रान्तिकारीले जितेको छ ।