विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट इतर पक्षको प्यानलै विजयी भएको छ ।
शुक्रबार आएको अन्तिम मतपरिणामअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ ।
अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र महिला उपसचिवमा उषा झा विजयी भएका हुन् ।
विजयी भएकाहरू सबैले इतर पक्षबाट उम्मेदवारी दिएका थिए ।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा ईर्जालाल राजवंशी र महिला उपसचिवमा शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका थिए ।
उनीहरू सबै पराजित भएका छन् ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो ।
जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो ।
९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए ।
सार्वजनिक भएको मत परिणाम अनुसार ढकालले अगाडि सारेका अध्यक्षका उम्मेद्वार अजम्बर राईले ४४६ मत ल्याउँदा संस्थापन पक्षका राजकुमार ओझाले ४०७ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा ढकाल पक्षका सागर थापाले ४२२ मत ल्याउँदा संस्थापनकी शान्तिकुमारी लिम्बूले ३९१, सचिवमा ढकाल पक्षका सोमराज थापाले ४६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३६८ मत पाएका छन् ।
यस्तै उपसचिवमा ढकाल पक्षका सन्तोष वान्तवाले ४९० र उषा झाले ४१८ मत ल्याउँदा संस्थापन पक्ष्ँका इर्जालाल राजवंशीले ३११ र शिल्पा कार्कीले ४०५ मत ल्याएकी छिन् ।
अधिवेशनमा ८ सय ८८ मत खसेको थियो ।
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।
बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा मतगणना सुरु गरिएको थियो ।