दाङ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफू सच्चिने भन्दै २०८४ मा बहुमत दिन आग्रह गरेका छन् ।
माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले शुक्रबार आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन गर्दै उनले २०६४ कै जस्तो बहुमत दिन आग्रह गरे ।
उनले भने, ‘६४ मा जुन मत दिएर हामीलाई बहुमत दिनुभयो । अब ८४ मा पनि त्यस्तै माया गरेर बहुमत दिनुहोस् । हामी बहुमतमा आउने छौँ । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जराकिला उखेलेर फाल्ने छ ।’
यस्तै उनले त्यो बहुमतले यो देशमा सामाजिक विभेदको पुरै अन्त्य गर्ने र यो देशलाई आर्थिक विकास र रोजगारीको एउटा नयाँ युगतिर लैजानेसमेत बताए ।
उनले भने,‘ म यो बारेमा तपाईँहरूसँग सङ्कल्प गरेको छु । तपाईँहरूले यस बारेमा विचार गरिदिनुहोला । आफ्ना छोराछोरी सम्झेर, माफी दिएर ८४ मा ६४ झै माया गरेर बहुमत दिनुहोला । त्यसको न्यायाधीश तपाईँहरू नै हो ।’
उनले माओवादी आन्दोलनबाट विभाजित भएका सबै पार्टीहरूलाई एकताबद्ध गर्ने अभियान शुरु गरेको भन्दै त्यो अभियान छिट्टै सार्थक हुने पनि बताए ।
अब सुशासन, सामाजिक न्याय र आर्थिक विकासको लडाइँमा माओवादी पार्टी लड्न चाहेको भन्दै त्यसको नेतृत्वको हैसियतले आफू जीवनको अन्तिमसम्म लडेर जितेर अगाडि जान चाहेकाले साथ दिन आग्रह गरे । उनले विधान मिचेर बनेको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असंवैधानिक भएको समेत बताए ।