काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ सोमबार नेकपा (एमाले) मा फर्किएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकको खाजा ब्रेक हुनुपूर्व पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले उनलाई स्वागत गरेका थिए ।
अध्यक्ष ओलीले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उनी मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि हुन् ।
बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् भने स्थायी र पोलिटब्यूरोका गरी बोल्न चाहने ५२ जनाले बोल्न बाँकी रहेको छ ।