झापा । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाबाटै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा सोमबार आयोजित खबरदारीसभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ओलीलाई चेतावनी दिएका हुन् ।
ओलीको गृह जिल्ला पुगेका प्रचण्डले ओलीलाई गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जाने अवस्था आउन सक्ने भन्दै चेतावनी दिए ।
खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओली नै जोडिएका गिरिबन्धु जग्गा प्रकरणको फाइल खोलेरै छाड्ने उद्घोष गरे ।
त्यति मात्रै होइन, एमाले नेताहरू जोडिएका यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोल्ने प्रतिबद्धता जनाए ।
उनले भने– ‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईँले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ ।’
प्रचण्डले गिरीबन्धुको फाइल खोल्ने प्रतिबद्धता गर्नु र आगामी निर्वाचनमा पहिलो दल हुने दाबी गर्नुले ओलीमाथि छानबिन भएरै छाड्ने सन्देश दिएका छन् ।
त्यसो त १५ महिनाअघि ओलीले प्रचण्डलाई गिरीबन्धुको फाइल खोल्न चुनौती दिएका थिए । जुन बेला प्रचण्ड प्रधानमन्त्री थिए भने ओली प्रमुख प्रतिपक्षी दलका नेता थिए । अहिले स्थिति ठ्याक्कै उल्टो छ । प्रचण्ड प्रमुख प्रतिपक्षी दलका नेता छन् भने ओली प्रधानमन्त्री छन् ।
त्यस्तै प्रचण्डले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने बताए ।
आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै प्रचण्डले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको दाबी गरे ।
‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन,’ उनले भने, ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ ।’