विराटनगर । दक्षिण कोरियामा आयोजित लगानी सेमिनारमा विराटनगरका दुई जना युवा उद्यमी सहभागी भएका छन् ।
सोलस्थित नेपाली दूतावासले मंसिर ३० र पुस २ गते आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसरहरू’ शीर्षकको सेमिनारमा विराटनगरका युवा उद्यमी प्रतिक राउत र प्रत्युश राउत सहभागी भएका हुन् ।
संघीय सरकारका उद्योग वाणिज्य मन्त्री दामोदर भण्डारीसहितको टोलीमा प्रतिक र प्रत्युश कार्यक्रममा लागि कोरिया गएका थिए ।
प्रतीक र प्रत्युश विगत चार दशकअघि उद्योग क्षेत्रमा प्रवेश गरेका विराटनगरका उद्योगी राजेन्द्र राउतका छोराहरू हुन् ।
भारतको बैंग्लोरस्थित जैन युनिभर्सिटीबाट एमबिए सकेर सन् २०१५ मा स्वदेश फर्किएका प्रतीक पछिल्लो ६ वर्षयता बुबाको उद्यमशीलतामा सँगसँगै छन् ।
अहिले शिवम् अर्गनाइजेसन हाँकिरहेका छन्, ३३ वर्षीय प्रतीक । प्रतीक अहिले काठमाडौंमा पाँचतारे होटल बनाउँदै छन् भने विराटनगरमा २५० करोडको लगानीमा अस्पताल निर्माण गर्दैछन् ।
पाँच सयभन्दा बढीलाई रोजगारी दिएका राजेन्द्र राउतको दुःख–सुख, संघर्ष र उतारचढावका साक्षी हुन्, प्रतीक र उनका भाइ प्रत्युश ।
सानै उमेरदेखिको पारिवारिक माहोल पनि मिलेका कारण उनीहरू दुवै उत्तराधिकारी व्यावसायिक पुस्ता बनेका छन् ।
उनीहरू सहभागी कार्यक्रमले नेपालमा लगानीका बढ्दो अवसरहरूलाई उजागर गर्ने छ । भोलि बुधबार नेपाल र कोरियाबीच ट्रेड एण्ड इनभेस्टमेन्ट प्रोमोशन फ्रेमवर्क हस्ताक्षर पनि हुने छ ।
नेपाल कोरिया चेम्बर अफ कमर्सका अध्यक्ष किरण साखको नेतृत्वमा गएको टोलीमा नेपालबाट सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि सहभागी छन् ।