विराटनगर । परराष्ट्रमन्त्री आरजु राणा देउवाले शुक्रबार चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन् ।
मन्त्री राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन् ।
यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्दधन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् ।
मन्त्री राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् ।
त्यस अवसरमा मन्त्री राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।