विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेकपा एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट काटिएको आरोप लगाएकी छन् ।
विराटनगर विमानस्थलमा सोमबार साँझ शब्द एक्सप्रेससँग कुराकानी गर्दै मन्त्री चौधरीले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि आएको बजेटमा एमालेले नेतृत्व गरेको मन्त्रालयरूको बजेट काटिएको गुनासो गरिन् ।
‘एमालेबाट मन्त्री बनेका मन्त्रालयहरूमा अलि बढी नै बजेट काटिएको छ,’ उनले भनिन्, ‘त्यसमा पनि मेरो मन्त्रालयमा झन् बढी काटिएको छ ।’ आफ्नो मन्त्रालयलाई सबैभन्दा कम बजेट छुट्याइएको उनको गुनासो छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएका थिए । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेटमा सबैभन्दा कम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पाएको छ । उक्त मन्त्रालयको लागि आगामी आर्थिक वर्ष एक अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाइएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय महत्त्वपूर्ण मन्त्रालय भए पनि बजेट कम दिइएको बताउँदै बजेट ल्याउनुअघि छलफम कम भएकोसमेत औंल्याइन् ।
छलफलबिनै बजेट आएको भन्दै सत्ता साझेदार दलसमेत रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाटे कटाक्ष गरिरहेका छन् । जसकारण सत्ता समीकरणमा फेरबदल आउनसक्नेसम्मको टीका–टिप्पणी भइरहेको छ ।
तथापि, सत्ता समीकरणमा नै परिवर्तन नहुने बताए पनि मन्त्री चौधरीले एमालेबाट मन्त्री बनेकाहरूले चलाएको मन्त्रालयमा बजेट घटाइएको गुनासो गरिन् ।
मन्त्री चौधरीले केही नयाँ कार्यक्रमलाई प्रभावकारी ढंगले पारित गराउन लागिपरेको बताउँदै सरकारले ती कार्यक्रमकै लागि भए पनि आफू नेतृत्वको मन्त्रालयको बजेट बढाउनुपर्ने बताइन् ।