काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२औँ एमेच्योर गल्फ च्याम्पियनसिप अफ इण्डियाको उपाधि जितेका छन् ।
रोयल कलकत्ता गल्फ क्लबमा म्याच प्ले फरम्याटमा खेलिएको ३६ होलको फाइनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे ।
पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याउँदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन् । सुवासको यो ऐतिहासिक सफलता हो ।
सन् १८९२ मा सुरु भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनसिप नेपाली गल्फरले भारतमा जितेको यो पहिलोपटक हो ।
नेपाल ओलम्पिक कमिटीबाट सन् २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लुरुस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन् ।