नयाँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।
आइपिएल २०२२ को प्लेअर अक्सनका लागि कुल एक हजार दुई सय १४ खेलाडीले नाम दर्ता गराएका छन् भने त्यसमा नेपालबाट १५ खेलाडीको नाम रहेकाे बिसिसिआईले जनाएको छ ।
खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसिमा तोकिएको थियो । जसमा भारतीय आठ सय ९६ र विदेशी तीन सय १८ खेलाडीले नाम दर्ता गराएका हुन् ।
एसोसिएट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउँदा नेपालबाट १५ खेलाडीले दर्ता गरेको हो । हालसम्म नेपालका कप्तान सन्दीप लामिछानेले मात्र आइपिएल खेलेका छन् । नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन् ।
आइपिएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा दुई सय १७ खेलाडीमात्र छनाेट हुने बिसिसिआईले विज्ञप्तिमार्फत जनाएको छ ।