वाग्मती प्रदेशलाई ५० रनले पाखा लगाउँदै नेपाल पुलिस क्लब प्रधानमन्त्री कप (पिएम) टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ५५ रन बनाएको थियो ।
कीर्तिपुरस्थित टियू क्रिकेट रङ्गशालामा भएको खेलको पहिलो इनिङमा वाग्मतीलाई मध्य स्कोरको लक्ष्य दिन पुलिसका ओपनर पवन सर्राफले उत्कृष्ट प्रदर्शन गरे ।
५४ बलको सामना गरेक सर्राफले तीन छक्का र तीन चौकाको मद्दतमा ५९ रन जोडे । सर्राफबाहेक दिलिप नाथले ३१, अनिल शाहले २५ र आरिफ शेखले १२ रनको योगदान गरे ।
पुलिसलाई रोक्न वाग्मतीका नन्दन यादव र रिजन ढकालले समान दुई–दुई र प्रतिश जिसीले एक विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको वाग्मतीले सुरुवातमै लय गुमाएको थियो । आफ्ना ओपनर इशन पाण्डेलाई एक रनमै गुमाएको वाग्मतीले त्यसपछि भने सुधारिएको ब्याटिङ गरेको थियो ।
मध्यक्रमका ब्याटर खासै चल्न नसकेको वाग्मतीको इनिङलाई सम्हाल्न आदिल खानले २७ र कप्तान ज्ञानेन्द्र मल्ले २३ रन बनाउँदै खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेनन् । दुवै खेलाडीलाई खेलका म्यान अफ द म्याच दिपेन्द्र सिंह ऐरीले पेभिलियन फर्काएका थिए ।
त्यसपछि झनै खराब प्रदर्शन गरेको वाग्मतीका लागि अन्तिममा आएका रिजन ढकाल (१५) र रामनरेश गिरी (२२) ले अविजित रहँदै राम्रो प्रदर्शन गरे पनि त्यो फाइनल पुग्न अपुग रह्यो ।
वाग्मतीलाई फाइनल पुग्नबाट रोक्न पुलिसका ऐरी बाधक बने । पूरै चार ओभर बलिङ गरेका ऐरीले १० रन खर्चेर पाँच विकेट लिएपछि वाग्मतीको इनिङ धरापमा परेको थियो ।
ऐरीलाई सागर ढकालले दुई र आरिफ शेखले एक विकेट लिँदै साथ दिएपछि पुलिस पिएम कपको फाइनल पुग्न सफल भयो ।
फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको पुलिसले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा यतिबेला एफिएफ क्लब र त्रिभुवन आर्मी प्रतिस्पर्धा गरिरहेका छन् ।
समूह ‘ए’ को विजेता पुलिस र समूह ‘बी’ को विजेता एपिएफ जारी प्रतियोगिताका दुई अपराजित टोली हुन् ।
प्रतियोगिताका विजेताले पाँच र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । फाइनल खेल भोलि (बुधबार) कीर्तिपुरस्थित टीयू क्रिकेट रङ्गशालामा हुनेछ ।