रसुवाको ल्हेन्दे खोला हुँदै भोटेकोसी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीको ९३ दिन पुग्न लाग्दा पनि प्रभावित परिवारले सरकारी राहत र क्षतिपूर्ति पाउन सकेका छैनन्। सरकारले बेपत्तालाई मृतक घोषणा गरी राहत उपलब्ध गराउने कानुनी व्यवस्था गरे पनि कार्यान्वयनमा ढिलाइ हुँदा पीडित परिवार समस्यामा परेका छन्।
गत भदौ १० गते आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो। बाढी प्रभावित रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार उनको पालिकामा १५७ जना बेपत्ता भएका छन्। उनीहरूका परिवारले अहिलेसम्म सरकारी राहत पाउन सकेका छैनन्। गाउँपालिकाबाट सिफारिस जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइए पनि निर्णय हुन बाँकी रहेको उनले बताए।
यसअघि बेपत्ता भएको १२ वर्षपछि मात्र मृतक घोषणा गर्न सकिने कानुनी व्यवस्था थियो। त्यसलाई संशोधन गर्दै सरकारले असोज २३ गते ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेको थियो। अध्यादेशअनुसार ४५ दिनसम्म खोज्दा पनि फेला नपरेका व्यक्तिलाई मृतक घोषणा गरी राहत उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।
हालसम्म ४९ जिल्ला प्रशासन कार्यालयले बेपत्तालाई मृतक घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएका छन्। गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्थानीय तहमार्फत मृतकका हकदारलाई शीघ्र राहत उपलब्ध गराउन निर्देशन दिएको छ। प्रक्रिया पूरा भएपछि मृतकका परिवारलाई दुई लाख रुपैयाँ र एउटै परिवारका थप सदस्यको मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत दिने व्यवस्था छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा ५१ जिल्लाका नागरिकको मृत्यु तथा बेपत्ता भएको विवरण छ। हालसम्म एक हजार ४६४ वटा शव संकलन गरिएकोमा एक हजार ३४४ वटा शव डीएनए परीक्षण तथा पहिचानका लागि सुरक्षित राखिएको छ। ११२ वटा शव परिवारलाई हस्तान्तरण गरिएको छ। बाढीमा ५१ जिल्लाका तीन हजार ३०५ जना नेपाली र १९ देशका ६२३ जना विदेशी नागरिक बेपत्ता भएको प्राधिकरणको तथ्यांक छ।
बाढीबाट करिब सात हजार घर पूर्ण रूपमा ध्वस्त भएको अनुमान छ। रसुवा, नुवाकोट, धादिङ र काठमाडौंका ७४५ घरधुरीका दुई हजार ५८३ जना अझै अस्थायी शिविर तथा होल्डिङ सेन्टरमा बस्न बाध्य छन्। जाडो बढेसँगै उनीहरूलाई न्यानो कपडा वितरण भइरहेको प्राधिकरणले जनाएको छ।
अस्थायी आवासका लागि दुई हजार ८८ घरधुरीलाई लाभग्राहीका रूपमा पहिचान गरिएकोमा हालसम्म १३८ घरधुरी मात्र स्वीकृत भएका छन्। प्रभावित परिवारलाई पहिलो किस्तामा २५ हजार र आवास निर्माण सुरु गरेपछि थप २५ हजार गरी ५० हजार रुपैयाँ उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ। भाडामा बस्ने परिवारलाई भने ६ महिनासम्म मासिक १५ हजार रुपैयाँ दिने व्यवस्था छ। तर प्राधिकरणको विवरणअनुसार अस्थायी आवास तथा जीविकोपार्जन अनुदानका लागि सरकारी रकम प्रभावित क्षेत्रमा पुग्न सकेको छैन।
प्राधिकरणका अनुसार विभिन्न संघसंस्थाको बहुउद्देश्यीय नगद सहायतामार्फत ११ हजार ४२५ घरधुरीलाई २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ वितरण गरिएको छ। विपद् प्रतिकार्य, खोज तथा उद्धार र राहत सामग्री खरिदमा सरकारी कोषबाट ३७ करोड रुपैयाँ खर्च भएको छ। संकटग्रस्त घोषित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ पठाइएको छ।
खोज तथा उद्धारका लागि नेपाली सेनालाई नौ करोड, नेपाल प्रहरीलाई छ करोड र सशस्त्र प्रहरी बललाई छ करोड रुपैयाँ उपलब्ध गराइएको छ। उद्धार तथा राहत सामग्री ढुवानीका लागि पाँच हजार ६२ हेलिकोप्टर उडान गरिएको थियो। हेलिकोप्टर सेवाबापत करिब ३२ करोड रुपैयाँको बिल भुक्तानी प्रक्रियामा रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत ९४ करोड ९४ लाख ९४ हजार ५६७ रुपैयाँ राहत तथा सहयोग प्राप्त भएको छ। बाढीपछि सरकारी राहत कोषमा १८ अर्ब ४७ करोड आठ लाख ७२ हजार ३९५ रुपैयाँ जम्मा भएको विवरण छ।
यति ठूलो रकम संकलन र उद्धार तथा राहतका लागि खर्च भएको विवरण सार्वजनिक भए पनि प्रभावित परिवारले समयमै सहायता पाउन सकेका छैनन्। कानुनी प्रक्रिया, लाभग्राही पहिचान र प्रशासनिक झन्झटका कारण राहत वितरणमा ढिलाइ भइरहेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ।