विराटनगर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू अनुपस्थित भएका छन्।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवले आइतबार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन्।
प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णबाट आयोजित समारोहमा जनमत पार्टीका तर्फबाट चन्दनकुमार सिंह मात्रै सहभागी भएका थिए। पूर्वमुख्यमन्त्री लालबाबु राउत भने कार्यक्रममा उपस्थित थिए। जसपा नेपालकै नेता तथा पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल पनि समारोहमा सहभागी भएनन्।
शपथपछि मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारलाई सर्वदलीय स्वरूप दिने बताएका छन्। उनले एक साताभित्र प्रदेशसभाबाट विश्वासको मत लिने तयारीसमेत रहेको जानकारी दिएका छन्।
तर शपथग्रहण समारोहमा प्रमुख दलका नेताहरू नै अनुपस्थित भएपछि यादवलाई विश्वासको मत जुटाउन चुनौती देखिएको छ।
यसअघि मंसिर ४ गते संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि दिइएको समयसीमाको अन्तिम समयमा एमाले, कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेताहरूले प्रदेश प्रमुखसमक्ष समय थप गर्न आग्रह गरेका थिए।