नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलको टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिएपछि दर्शकले असन्तुष्टि व्यक्त गरेका छन्। शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुल्ने जानकारी दिइए पनि त्यसअघि नै टिकटिङ प्लेटफर्ममा सबै टिकट बिक्री भइसकेको संकेत देखिएको थियो।
दिउँसो १२ बजेर ५७ मिनेटमा टिकटिङ प्लेटफर्म खोल्दा फाइनल खेलको टिकट ‘सोल्ड आउट’ देखिएको थियो। यद्यपि, केही प्रयोगकर्ताको स्क्रिनमा भने टिकट बिक्री दिउँसो १ बजेबाट सुरु हुने समय उल्लेख थियो।
निर्धारित समय भएपछि टिकट खरिद गर्ने प्रयास गर्दा पनि सफल नभएको दर्शकहरूले बताएका छन्। दिउँसो १ बजेर १ मिनेटमा टिकट काट्न खोज्दासमेत प्रक्रिया अघि नबढेको उनीहरूको गुनासो छ।
टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिनु र बिक्री खुल्ने समय देखिएका प्रयोगकर्ताले समेत टिकट खरिद गर्न नसक्नुले सामाजिक सञ्जालमा टिकट व्यवस्थापनप्रति प्रश्न उठाएको छ।
यसअघि पनि एनपीएलका खेलहरूको टिकट बिक्री खुल्ने समयमा प्राविधिक समस्या देखिने र केही समयमै टिकट सकिने गरेको भन्दै दर्शकले गुनासो गर्दै आएका थिए।
फाइनल खेलको टिकट बिक्रीमा समेत उस्तै समस्या दोहोरिएपछि टिकट वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित नभएको भन्दै दर्शकले असन्तुष्टि जनाएका छन्।