नेकपा एमालेका सचिव शेरधन राईले विश्वमा बढ्दो चुनौती र अविश्वास अन्त्य गर्न संवाद, सहकार्य तथा शान्तिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
दक्षिण कोरियाको सोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै उनले राजनीतिक विचार, संस्कृति र राष्ट्रिय पृष्ठभूमि फरक भए पनि सबै राष्ट्रको साझा उद्देश्य शान्ति र समृद्धि रहेको बताए।
नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने मान्यतामा आधारित रहेको उल्लेख गर्दै राईले सबै देशको स्वतन्त्रता र सार्वभौमिकताको सम्मान गर्नुपर्ने धारणा राखे। अन्तर्राष्ट्रिय विवाद तथा समस्याको समाधान द्वन्द्वबाट नभई आपसी संवादबाट खोजिनुपर्ने उनको भनाइ थियो।
भारत र चीनको बीचमा रहेको नेपालको भौगोलिक अवस्थिति दुई देशसहित अन्य राष्ट्रलाई जोड्ने माध्यम बन्नुपर्ने उनले बताए। दुवै छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध कायम राख्नु नेपालको प्राथमिकता रहेको उनको भनाइ थियो।
अन्तर्राष्ट्रिय सम्बन्धले सर्वसाधारणको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्ने बताउँदै उनले युवाका लागि रोजगारी, व्यवसायीका लागि अवसर, विद्यार्थीका लागि शिक्षा तथा प्रविधि र श्रमिकका लागि सुरक्षा र सम्मान आवश्यक रहेको उल्लेख गरे। नेपालको जलविद्युत् तथा स्वच्छ ऊर्जा क्षेत्रको सम्भावना उपयोग गर्न अन्तर्राष्ट्रिय लगानी र प्रविधिको स्वागत गरिने पनि उनले बताए।
विदेशमा काम गरिरहेका लाखौँ नेपाली श्रमिकको योगदानको चर्चा गर्दै राईले उनीहरूको अधिकार, सुरक्षा र सम्मान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
सम्बोधनका क्रममा उनले जलवायु परिवर्तनले नेपालमा पारेको असरबारे पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए। भोटेकोशी क्षेत्रलगायत विभिन्न स्थानमा हालै आएका विनाशकारी बाढीले जनधन, जीविकोपार्जन र जनजीवनमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै जलवायु परिवर्तनमा न्यून योगदान गर्ने देशले नै बढी क्षति व्यहोर्नुपरेको अवस्था न्यायोचित नभएको बताए।
नेपाललाई सहानुभूतिभन्दा पनि व्यावहारिक सहयोग, प्रविधि, लगानी र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनको भनाइ थियो। जलवायु परिवर्तन विश्वकै साझा समस्या भएकाले यसको सामना गर्न सबै राष्ट्र जिम्मेवार हुनुपर्ने उनले उल्लेख गरे।
राजनीतिक मतभिन्नता भए पनि संवादको सम्भावना कायम राख्नुपर्नेमा जोड दिँदै राईले टकरावभन्दा सहकार्य र द्वन्द्वभन्दा शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरे। भावी पुस्ताका लागि सुरक्षित, शान्त र समृद्ध विश्व निर्माण गर्न साझा प्रयास आवश्यक रहेको उनले बताए।