तराई–मधेसको प्रमुख सडक सञ्जालका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गत धनुषाको कदमचोकदेखि कमला नदीको पुलसम्म सडक सीमाभित्र बनाइएका अनधिकृत संरचना हटाउन थालिएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयले सडक क्षेत्रभित्र रहेका घर, टहरा र घुम्ती पसल हटाउने अभियान अघि बढाएको हो । पटकपटक सूचना जारी गर्दा पनि संरचना नहटाइएपछि हटाउने काम सुरु गरिएको कार्यालय प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।
उनका अनुसार सडक सीमाभित्रका संरचनाका कारण निर्माण तथा विस्तारको काम प्रभावित हुँदै आएको छ । केही स्थानमा सडक निर्माण नै सुरु हुन नसकेको भन्दै आवश्यक परे बल प्रयोग गरेर भए पनि अतिक्रमित संरचना हटाइने उनले बताए ।
यस सडकखण्डको अधिकांश भाग कालोपत्र भइसकेको छ भने धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी मङ्सिरदेखि पुल सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पुल सञ्चालन भएपछि सवारीसाधनको चाप बढ्ने भएकाले सडक क्षेत्र खाली गराउन थालिएको कार्यालयले जनाएको छ । मङ्सिरको पहिलो साता प्रधानमन्त्री बालेन्द्र शाहबाट सडकखण्डको निरीक्षण हुनसक्ने तयारीसमेत गरिएको छ ।
कमला पुल निर्माणको ठेक्का विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले पाएको थियो । विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला बाढीले पुलका पिलर भाँचिएपछि निर्माण रोकिएको थियो । पुल क्षतिग्रस्त भएपछि स्थानीयवासीले लामो समयसम्म नदी वारपार गर्न डुङ्गाको प्रयोग गर्नुपरेको थियो ।
पुनर्निर्माणका क्रममा देखिएका प्राविधिक समस्या समाधान भएपछि कामले गति लिएको कार्यालय प्रमुख महतोले बताए । उनका अनुसार पुलको १० नम्बर पिलर निर्माण सम्पन्न भएको छ भने सुपर स्ट्रक्चरको ढलान भइरहेको छ । फाउन्डेसन र तीनवटा पिलरको सवलीकरण तथा स्ल्याब ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ ।
यसैबीच, सिरहादेखि सर्लाहीसम्म फैलिएको हुलाकी सडकको कुल ४०६ दशमलव ४३ किलोमिटरमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर कालोपत्र भएको छ । यस खण्डमा निर्माण गर्नुपर्ने २४ वटा पुलसमेत सम्पन्न भइसकेका छन् । जिल्लागत रूपमा सिरहामा २९ दशमलव ९८, धनुषामा ७४ दशमलव ५८, महोत्तरीमा ९१ दशमलव ५६ र सर्लाहीमा १५१ दशमलव ५१ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२/८३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि सडक सीमाको अतिक्रमण र जग्गासम्बन्धी विवादले केही काम प्रभावित भएको कार्यालयले जनाएको छ । बाँकी निर्माण कार्य निर्धारित समयमै सक्ने प्रयास भइरहेको महतोको भनाइ छ ।
हुलाकी सडक विस्तारले स्थानीयको आवागमन सहज बनाउनुका साथै व्यापार, कृषि उपजको बजारीकरण र जग्गाको मूल्यमा समेत प्रभाव पारेको स्थानीय जनप्रतिनिधि तथा व्यवसायीले बताएका छन् । धनुषाको औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्कर प्रसाद साहका अनुसार सडक निर्माणअघि प्रतिकठ्ठा करिब २० लाख रुपैयाँमा बिक्री हुने जग्गाको मूल्य अहिले ६० देखि ७० लाख रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, स्थानीय व्यवसायीका अनुसार सडक सुधारपछि गाउँबाट बजारसम्म आउजाउ सहज भएको छ र व्यापार व्यवसाय पनि बढेको छ । हुलाकी राजमार्गले मधेस प्रदेशका ग्रामीण बस्तीलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्दै कृषि, पर्यटन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।