राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका सबै निर्णयमा पार्टीले समर्थन जनाउनुपर्ने बाध्यता नरहेको बताएका छन्। सरकारका कामकारबाहीमाथि निगरानी राख्ने र आवश्यक विषयमा प्रश्न उठाउने जिम्मेवारी पार्टीको भएको उनको भनाइ छ।
बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टी र सरकारले आ–आफ्नो जिम्मेवारी स्वतन्त्र रूपमा निर्वाह गरिरहेको बताए। सरकारका हरेक निर्णयमा सहमति जनाउनुको सट्टा आवश्यक परे त्यसबारे थप स्पष्टता माग्नु पार्टीको भूमिका भएको उनले उल्लेख गरे।
सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) परिवर्तन गरेको विषयमा रास्वपा असन्तुष्ट रहेको हो भन्ने प्रश्नमा उनले सुरक्षा निकायको नेतृत्व परिवर्तन संवेदनशील विषय भएको बताए। सरकारले लिने निर्णयको औचित्य पुष्टि गर्ने दायित्व पनि सरकारकै हुने उनको भनाइ थियो।
लामिछानेले आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारी परिवर्तन गर्न पार्टीले निर्देशन नदिने स्पष्ट पारे। आईजीपी फेरबदलमा पार्टीको कुनै भूमिका नरहेको प्रवक्ताले समेत बताइसकेको उनले स्मरण गराए। यद्यपि, यस विषयमा पार्टीले सरकारसँग स्पष्ट जवाफ मागेको उनको भनाइ थियो।
उनले कुनै पनि व्यक्तिमाथि आरोप लाग्दैमा दोषी ठहर गर्न नमिल्ने बताउँदै प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए। सरकारले आफ्ना कामकारबाही गर्दा विधिको शासन र कानुनी प्रक्रियालाई प्राथमिकता दिनुपर्ने उनले बताए।
सरकारलाई जनस्तर, नेतृत्व तह तथा विभिन्न संघसंस्थाबाट प्रश्न नउठ्ने गरी परिपक्व ढंगले काम गर्न आफूहरूले सुझाव दिँदै आएको लामिछानेले उल्लेख गरे।
पार्टी र सरकारबीच समन्वयको अभाव नरहेको दाबी गर्दै उनले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिइएको बताए। सरकारका निर्णयमाथि प्रश्न उठाउँदैमा त्यसलाई दुई पक्षबीचको द्वन्द्वका रूपमा बुझ्न नहुने उनको भनाइ थियो। आवश्यक जिज्ञासा र विषयमा स्पष्टताका लागि पार्टी र सरकारबीच निरन्तर संवाद भइरहेको उनले बताए।